aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इक्यानका ४६३  जना कर्मचारीको कोरोना बीमा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ जेठ २०७७
इक्यानका ४६३  जना कर्मचारीको कोरोना बीमा गर्यो

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्ना सबै सदस्य र कर्मचारीको कोरोना बीमा गरेको छ । इक्यान अध्यक्ष प्रकाश पाण्डेले इक्यानका सबै ४६३ जना सदस्य र ९ जना कर्मचारीको कोरोना बीमा गरेको जानकारी दिए । 

उनका अनुसार सबै कर्मचारी र सदस्यको १ लाख रुपैयाँ बराबरको बीमा गरिएको हो । जसवापत प्रतिव्यक्ति ६ सय रुपैयाँ खर्चिएको छ । बीमाको अवधि १ वर्षका लागि हुनेछ । बीमा गरेको १४ दिनपछि यो एक्टिभ हुनेछ । 

त्यसैगरी कोरोना भाइरसको महामारी र त्यसपछि मुलुकमा लागू भएको लकडाउनका कारणले व्यवसायमा समस्या सिर्जना भएको र लकडाउनपछि व्यवसाय बचाउन व्यवसायीहरुलाई बैंकबाट सफ्ट लोन लिनका लागि आवश्यक छलफल भइरहेको समेत अध्यक्ष पाण्डेले जानकारी दिए ।

गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन भएका कारण अहिले शैक्षिक परामर्श क्षेत्र प्रभावित बनेको छ भने इक्यानले यस अवधिमा विदेशमा रहेका विद्यार्थीहरुको समस्या समाधानमा समेत क्रियाशिल छ । 

कोरोनाका कारण उच्च शिक्षाका लागि अध्ययन गर्न जान चाहने विद्यार्थी विदेश जान पाएका छैनन् भने सरकारले शिक्षामन्त्रालयबाट जारी हुने एनओसी समेत गत फाल्गुन देखी बन्द गरिसकेको छ । यसले विदेश जान तयारी गरिरहेका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । 

सरकारले आगामी दिनमा लकडाउनको मोडालिटी परिवर्तन गर्दै आर्थिक गतिविधि समेत बढाउने निर्णय गरिसकेको छ। जस अनुसार जेठ ३२ गतेपछि शैक्षिक परामर्श संस्थाहरु सञ्चालन हुनसक्ने देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण मुलुकमा ३ हजार ४ सय ४८ जना संक्रमित भएका छन् भने ४६७ जना उपचारपछि निको भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस