
काठमाडौं । कोरोना संक्रमणको खराब मुलुकको सूचीमा नेपाल ७७ औँ स्थानमा उक्लिएको छ। मंगलबार ३ सय २४ नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा नेपाल ७७ औँ स्थानमा पुगेको हो । ४ दिन अघिसम्म नेपाल ८४ औा स्थानमा थियो।
विश्वभर २ सय १५ मुलुक कोरोना संक्रमणबाट गुज्रिरहेका छन्। त्यसमध्ये ९३ मुलुकमा १ हजारभन्दा कम संक्रमित छन्। कोरोना संक्रमितको संख्यालाई हेर्ने हो भने हंगेरी, आइभोरीकोस्ट र लग्जमवर्गलाई पछि पार्दै नेपाल थप माथितिर उक्लिएको छ।
नेपालले उछिनेको हङ्गेरीमा ४ हजार १७ जना संक्रमित छन्। हङ्गेरीमा कोरोना संक्रमित ५ सय ५० जनाको त मृत्यु नै भइसकेको छ। त्यसैगरी नेपालले उछिनेको लग्जेमवर्गमा ४ हजार ४६ जना संक्रमित छन्। त्यहाँ पनि १ सय १० जनाको मृत्यु भइसकेको छ। यी मुलुकको तुलनामा नेपालमा मृत्यु दर भने कम छ। नेपालमा अहिलेसम्म १५ जनाको मृत्यु भएको छ। खराब मुलुकको सूचीमा शीर्ष स्थानमा अमेरिका, ब्राजिल र रसिया रहेका छन्।
प्रतिक्रिया दिनुहोस