
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा फिल्म निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । अध्यक्ष दाहाल निर्देशनका साथै विभिन्न विधामा पनि उत्तिकै सशक्त छन् । उनी आफै कलाकार, म्युजिक डाइरक्टर एवम् रचनाकार पनि हुन् । दाहाल सन् १९९२ देखि नै फिल्म निर्माणमा अग्रसर रहेका थिए । दाइजो, दौँतरी, चाँदनी, ढुकढुकी, जंगे, तँ त साह्रै नै बिग्रिस बद्री, भाग्यविधाता, दोबाटोलगायतका दर्जनौं चर्चित चलचित्र निर्देशन गरेका छन् ।
उनी बोर्डको गरिमामय पदमा नियुक्त भएपछि स्थानीय बासीहरूले उनको कार्यकालको शुभकामना दिएका छन् । दाहाल काठमाडौं महानगरपालिका हाँडीगाउँका स्थानीय बासिन्दा हुन् । हिजो मंगलबार हाँडीगाउँ स्थित त्रिशक्ति क्लब र त्रिशक्ति महिला समूहले उनको कार्यकालको कामना सहित शुभकामना दिएको छ । शुभकामना ग्रहण गर्दै अध्यक्ष दाहालले आफ्ना दाजुभाइ तथा दिदीबहिनीले यसरी बोर्डमा आएर शुभकामना दिँदा काम गर्न थप हौसला र प्रेरणा मिलेको बताए ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड सदस्यसमेत रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिनासम्म बोर्ड अध्यक्ष विहीन अवसथामा थियो । उक्त पदको लागि सूचना तथा सञ्चार मन्त्रालयले अभिनेता भुवन केसीको नाम पनि सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस