काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले अहिले हिसाबको चिन्ता गर्ने बेला नरहेको बताएका छन् । बुधबार संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै उनले यो बेला कहाँ कति खर्च भयो भनेर हिसाव खोजी गर्ने बेला नभएकोे बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कोभिड-१९ नियन्त्रण रोकथाममा १० अर्ब रकम खर्च भएको विषयमा हिसाब नगर्न सुझाएका छन्। मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १० अर्ब खर्च भएको विषयमा हिसाब मागेको थियो। प्रधानमन्त्री ओलीले १० अर्बको हिसाब प्रणालीगत हिसाबले आउने बताए।
'दश अर्ब खर्च भए कहाँ भयो भन्ने प्रश्न आए। त्यसको प्रणाली छ। केन्द्रले प्रदेश र स्थानीय तहमा पठाउँछ। प्रदेशले स्थानीय तहमा पठाउँछ। अहिले कामका बेला लेखा परीक्षणमा बढी केन्द्रित भएका छैनौं। अहिले काममा केन्द्रीत भएका छौं,' प्रधानमन्त्रीले भने, 'रकम पठाइएको छ।'
उनले अनियमितता भएको भेटिए सरकारले कारबाही गर्ने र कानुनको कठघरामा ल्याउने बताए। उनले अहिले स्थानीय तहलाई भ्रष्टाचार गर्यो भनेर अविश्वास गर्ने अवस्था नरहेको बताए।
'अहिले अविश्वास गरिहाल्ने अवस्था छैन। प्रदेश र स्थनीय तह भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए। अलिकति रकम पाउन साथ भ्रष्टाचार गरे भनेर अविश्वास गर्ने अवस्था छैन', ओलीले भने, 'स्थानीय तहहरू जनतालाई सुविधा राहत पुर्याउन काम गरिरहेका छन्। यत्रो ठूलो आपत आइलाग्दा बजेटको सीमा छ। खर्चको सीमा छ। जसरी काम गरिरहनुभएको छ म प्रशंसा गर्न चाहान्छु। हामीले भावनामा चोट पुग्ने गरी शब्दावली प्रयोग गर्न हुँदैन।' उनले स्थानीय तहहरूको काम गराइबाट कसरी धान्नुभएको होला भन्ने जिज्ञासा आफूलाई भएको बताए।
त्यस्तै, ओलीले कोरोना महामारी सामना गर्न सरकारले गरेका सबै प्रयास सत प्रतिशत सही नभए पनि त्यसलाई नियन्त्रण गर्ने पर्यत्नले संक्रमण नियन्त्रण गर्न सहयोग पुगेको बताएका छन्।
‘प्रयास सय प्रतिशत र पर्याप्त होला म भन्दिन। कम हुन सक्छ, तर अन्यत्र धेरै विकाराल रुप लिइसक्दा हाम्रो ९ बाट १० पुगेको थिएन। यद्यपी हामीकोमा तयारी, स्वास्थ्यस्थिति कस्तो थियो?,’ प्रधानमन्त्री ओलीले संसदमा संवोधन गर्ने क्रममा भने, ‘२१ वटा परीक्षण मेसिन छ, केही ठाउँमा व्यवस्थापनको गम्भीर कमजोरी छ, मेसिन गएको छ जोड्न सकिएको छैन, मेसिन छ तर, चलाइएको छैन।’
उनले सुरुमै लकडाउन गरेर केही नहुनु नै ठूलो कुरा भएको बताए। लकडाउन प्रभावकारी बनाउन सरकारले अवलम्बन गरेको कुरा सामान्य नभएको प्रधानमन्त्रको दाबी छ।
प्रतिक्रिया दिनुहोस