aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

‘पिसिआर गर्ने कि आरडिटी गर्ने भनेर मैले भन्ने विषय होइन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
‘पिसिआर गर्ने कि आरडिटी गर्ने भनेर मैले भन्ने विषय होइन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिसिआर र आरडिटीको विषय आफूले टुंगो गर्ने विषय नभएको टिप्पणी गरेका छन्। आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा संसदमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

'कतिपय विषय प्राविधिक विषय छन् जो राजनीतिक हिसाबले टुंगो लगाउने विषय हैनन्। कुन चिज प्रयोग गर्ने, पिसिआर गर्ने कि आरडिटी प्रयोगको विषय मैले भन्ने विषय होइन', ओलीले भने, 'यो प्राविधिकले भन्ने विषय हो। कुन प्रयोग गर्न सम्भव हुन्छ कुन हुन्न भन्ने कुरा।' उनले महामारीको विषय दलीय विषय हुन नहुने समेत बताए।

'महामारी जस्तो विषय दलीय विषय होइन। यो मानवीय विषय हो', ओलीले भने, ‘सरकारको विषयमात्र होइन सामाजिक विषय हो। यो सत्तापक्षको मात्र विषय होइन यसले सत्तापक्ष-प्रतिपक्ष छुट्याउँदैन, साझा विषय हो। हामी त्यसैगरी लडिराखेको छौं।'

'कसैले अन्यथा आग्रहका साथ कुनै सुझाव देला वा टिप्पणी गर्ला भन्ने लाग्दैन', ओलीले भने, 'हरेक नेपाली कोरोना विरूद्धको लडाइँको सिपाही हो। कसैबाट आउने टिप्पणी र सुझावलाई नकारात्मक रूपमा लिन चाहन्नँ।' सरकारले गरेको प्रयास शतप्रतिशत नभएको समेत उनले स्वीकारे।

त्यस्तै उनले अहिले दैनिक ५ हजारको टेस्ट भइरहेको बताएका छन् । उनले भने, ‘अहिले दैनिक ५ हजारको कोरोना टेस्ट भइरहेको छ, यसको दायर बढाउने कद चालिरहेका छौँ । चाडै नै परिक्षणको दायर बढाउँछौँ ।’ 

भारतबाट आएको मानिसहरुमा संक्रमण भएकोले पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेको उनको भनाई छ । 
भारतबाट मात्रै जेठ महिनामा २ लाख २२ हजार बढि मानिस नेपाल प्रवेश गरेका छन् । भारतबाट ठुलो संख्यामा नेपाल भित्रिएका कारण परिक्षणमा अव्यावस्थित देखिएको उनको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस