
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि हुने विरोधलाई आफूले गणतन्त्रमाथिको प्रहारका रूपमा लिने बताएका छन् । बुधवार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा राष्ट्रपतिमाथि हुने विरोधप्रति आक्रोशित देखिएका हुन् ।
उनले राष्ट्रपति निवासको प्रयोजनका लागि किनिएको सामग्रीको विरोध प्रकारान्तरले गणतन्त्रकै विरोध भएको टिप्पणी गरे । के किन्ने के नकिनने विषयमा राष्ट्रपतिलाई थाहा नहुने हुँदा यस्तो कुरामा हौसिन नहुने पनि बताए ।
'गणतन्त्रको विरोध गर्न मन लागेको हो भने खुला लागे भो नि, तर राष्ट्रपतिमाथि खनिने ?' उनले प्रश्न गरे, 'कार्पेट राष्ट्रपतिले अर्डर गर्ने हो ? कार्पेट कहाँ राखियो त्यो प्रधानमन्त्रीलाई थाहा हुन्छ ?'
उनले राष्ट्रपति जस्तो संस्थालाई दलगत रूपमा हेर्न नहुने भनाइ राखे । केही दिन अघि राष्ट्रपति निवासमा करोडौंको गलैंचा फेर्न लागिएको भन्दै विरोधका स्वरहरू उठेका थिए ।
'जेमा पनि राष्ट्रपति को विरोध गर्ने ?' उनले प्रश्न गरे, 'दलगत रूपले हेर्ने कुरा पनि उचित होइन । राष्ट्रपतिलाई केही अधिकार दिएर हामीले दैनिक शासन प्रशासन संचालन गर्ने गएका छौं । राष्ट्रपतिले जवाफ पनि दिन मिल्दैन । राष्ट्रपति चुप बस्यो भनेर जेमा पनि विरोध गर्नु सह्य हुँदैन ।'
उनले थपे - 'राष्ट्रपति चुप लागेर बस्या छ, के गर्नुपर्थ्यो ? यस्तो प्रवृत्ति लोकतान्त्रिक पनि भएन, गणतन्त्र पनि भएन । यस्तो कुरामा साथीहरू हौसिन भएन भन्न चाहन्छु ।'
प्रतिक्रिया दिनुहोस