aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

विनियोजन विधेयक, २०७७ पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
विनियोजन विधेयक, २०७७ पारित

काठमाडाैं । प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई  पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्र्णयार्थ प्रस्तुत गर्नुभएकामा सदनले बहुमतले पारित गरेको हो ।

यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले  बैठकमा उक्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेको थियो ।

बैठकमा सभामुखले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । संवैधानिक व्यवस्थानुसार अर्थमन्त्री डा खतिवडाले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक विवरण(बजेट) प्रस्तुत गरेको थियो ।  

सरकारले आगामी आवका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटमा चालुतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड विनियोजन गरिएको छ । बजेटमा वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७२ अर्ब  ७९ करोड व्यवस्थापन गरिएको छ । बजेटका स्रोतमध्ये राजश्वबाट  रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट  रु ६० अर्ब ५२ करोड सङ्कलन हुने अनुमान गरिएको छ ।

विनियोजन विधेयकमाथि प्रतिपक्ष दलका  सदस्यले  २६  खर्च कटौतीसम्बन्धी  राख्नुभएको प्रस्तावलाई सभाको बहुमतले अस्वीकृत ग¥यो  ।  विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि यही जेठ २३, २४ र २५ गते सदनमा छलफल भएको थियो भने तिनमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले  जेठ २७ र २८ गते जवाफ दिए ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका शीर्षकमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस