
काठमाडौं । सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नगर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई मान्यता गरी ग्रेड निर्धारण गर्ने निर्णय लिएको हो ।
शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेको थियो । बैठकले विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै परीक्षाको आधार मान्ने निर्णय गरेको हो ।
सरकारको निर्णयपछि अव विद्यालयले नै विद्यार्थीको एसईईको मूल्याङ्कन गरी ग्रेड समेत निर्धारण गर्ने बाटो खुलेको छ भने पुरानो परिपाटीबाट परीक्षा नहुने स्पष्ट भएको छ । तत्काल एसईई परीक्षा सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएपछि सरकारले परीक्षा लिने पुरानो परिपाटीमा परिवर्तन गरेको हो । सरकारको यो निर्णयसँगै एसईई परीक्षाका बारेमा लाखौँ विद्यार्थी तथा अभिभावकमा रहेको अन्यौल हटेको छ ।
त्यस्तै, बैंठकले एसइईका विषयमा निर्णय गरे पनि कक्षा ११ र १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरेको छैन । कक्षा १२ मा हुने विद्यालय तहको अन्तिम परीक्षा कोरोना संक्रमण हटेर सामान्य अवस्था आएपछि उपयुक्त समयमा हुने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको अन्तिम परीक्षा भएकाले कक्षा १२ को परीक्षा लिइने बताए । ‘बुधबार एसइईको मात्र प्रस्ताव लगेकाले कक्षा ११ र १२ को विषयमा भने कुनै निर्णय भएको छैन ।’ एसइई परीक्षा नभएपछि कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनका आधारमै गरिने भए पनि अहिले निर्णय नभएको मन्त्री पोखरेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस