aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कोरोना संक्रमितको संख्यामै तलमाथि, प्रवक्ताले नै दिए दुई थरी तथ्यांक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
कोरोना संक्रमितको संख्यामै तलमाथि, प्रवक्ताले नै दिए दुई थरी तथ्यांक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा सवा ४ बजे कोरोना ब्रिफिङ गर्दै आइरहेको छ । जसमा मन्त्रालयले कोरोना संक्रमितको आधिकारिक तथ्यांक र जानकारी प्रस्तुत गर्ने गरेकाे छ  । 

सञ्चारमाध्यम देखि सर्वसाधारणको सूचनाको आधिकारिक स्रोत मन्त्रालयले गर्ने नियमित कोरोना ब्रिफिङ नै हो । तर बिहीबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रस्तुत गरेका तथ्यांक भने बाझिएका छन् । 

मिडिया ब्रिफिङका क्रममा डा गौतमले कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ भनेर जानकारी दिए। प्रयोगशाला परीक्षणको जानकारी दिइसकेपछि उनले संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको जानकारी दिएका हुन् ।

तर, उनले प्रदेशगत तथ्यांकको विवरण दिने क्रममा भने संक्रमितको संख्या ४ हजार ६ सय २२ रहेको जानकारी दिए । डा गौतमले प्रस्तुत गरेको प्रदेशगत विवरण जोड्ने हो भने कुल संक्रमितको संख्या ४ हजार ६ सय २२ नै हुन आउँछ । 

तर, प्रवक्ता डा गौतमले बिहीबार नेपालमा २ सय ५० जना संक्रमित थपिएको जानकारी दिए। बुधबार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ थियो । 

यो आधारमा हेर्दा बुधबारसम्मको कुल संख्या ४ हजार ३ सय ६४ मा २ सय ५० जना थपिँदा जम्मा संख्या ४ हजार ६ सय १४ पुग्छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३ सय ७, प्रदेश २ मा १ हजार ६ सय ७१, बागमति र गण्डकीमा समान १ सय ४७, प्रदेश ५ मा १ हजार ३ सय ९९, कर्णालीमा ७ सय ५९ र सुदूरपश्चिममा १ सय ९२ जना संक्रमित भेटिएका छन् । प्रदेशगत संक्रमितको संख्या जोड्ने हो भने ४ हजार ६ सय २२ हुन्छ । 

अब प्रश्न आउँछ, कुल संक्रमितको संख्या कति ? ४ हजार ६ सय १४ या ४ हजार ६ सय २२ ? मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ४ हजार २ सय ८५ पुरुष र ३ सय २९ महिला छन् । 

 

प्रतिक्रिया दिनुहोस