काठमाडौं । भारतले कोभिड-१९ पछि नेपालसँगको सीमा विवाद दुईपक्षीय वार्ताबाट निकास निकाल्ने पुनः जनाएको छ । यसअघि पनि भारतले दुईपक्षीय वार्ता कोभिड-१९ पछि अन्तर्राष्ट्रिय उडान खुलेपछि गर्ने बताउँदै आएको थियो । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा उसले पुरानै धारणा दोहोर्याएको हो ।
सीमाको विषयलाई लिएर भारत-नेपालबीच देखिएको पछिल्लो तनाव कुन अवस्थामा छ भन्ने जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको बताउँदै वार्ताबाटै निकास निस्कने स्पष्ट पारेका हुन् ।
‘सीमा विवाद र नेपालसँगको सम्बन्धलाई लिएर भारतले यसअघि नै आफ्नो धारणा प्रस्ट पारिसकेको छ,’ श्रीवास्तवले ब्रिफिङमा भने, ‘भारतले नेपालसँग सभ्यता, संस्कृति र आत्मीय सम्बन्धलाई अत्यन्त महत्व दिन्छ। केही समययता हाम्रो बहुआयामिक द्विपक्षीय साझेदारी थप सघन भइरहेको र त्यसको क्रम बढ्दो मात्र होइन, विविधीकरण उन्मुख छ।’नेपाललाई भारतले विकास र अन्य सहायता वृद्धि गर्दै लगेको पनि उल्लेख गर्दै छिमेकमा आएको समस्या समाधान गरेरै अघि बढ्ने उनले खुलाए ।
गत कात्तिकमा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको भूभागलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा पारेपछि नेपाल(भारतबीच दुईपक्षीय वार्ता गर्ने विषय उठे पनि अझै त्यसले सार्थकता पाएको छैन। गत कात्तिकमा राजनीतिक नक्सा र गत वैशाख अन्तिम साता नेपाली भूभागमै सडक निर्माण गर्दै त्यसको उद्घाटन गरेपछि नेपालले पनि त्यस क्षेत्रलाई समेटेर राजनीतिक र प्रशासनिक नक्सा जेठ पहिलो साता जारी गरेको थियो।
उक्त नक्सा जारीसँगै ती भूभाग दुवै मुलुकको राजनीतिक नक्सामा परेका छन् । तर, १८१६ को सुगौली सन्धिअनुरूप त्यो क्षेत्र नेपालको पुष्टि भएको भनिए पनि भारतले आफ्नै भूभाग भन्दै दाबी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस