
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताएका हुन् ।
उनले भने, ‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरू बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ ।’
मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको आरोप लगाए । पछिल्लो एक–दुई दिनका घटनामा हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनको भनाइ छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको भनिएको दश अर्ब रुपैयाँमा भ्रष्टाचार भएको भन्दै देशभर विरोध प्रदर्शन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस