aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कर्मचारीको तलब २० प्रतिशत र वृद्धभत्ता पाँच सय बढ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
कर्मचारीको तलब २० प्रतिशत र  वृद्धभत्ता पाँच सय बढ्ने

काठमाडौं, जेठ १३ । नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ ।

नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार रुपैयाँ पुर्याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो ।

‘गत वर्ष सामाजिक सुरक्षाभत्ता नबढाउँदा सर्वत्र आलोचना भएपछि अहिले कम्तीमा पनि पाँच सय रुपैयाँ बढाएर दुई हजार पाँच सय पुर्याउने तयारी गरिएको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘स्रोतले भ्याए एक हजार रुपैयाँ पनि बढाउन सकिन्छ । तर, कम्तीमा पाँच सय भने अवश्य बढ्नेछ ।’

ती अधिकारीले १४ गतेसम्म बजेटका स्रोतको हिसाबकिताब भइरहने भएकाले पाँच सय रुपैयाँभन्दा बढी पनि भत्ता बढ्न सक्ने जानकारी दिए । उनका अनुसार तलबमा पनि २० प्रतिशतसम्म वृद्धि गर्ने तयारी गरिएको छ । आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।

सामाजिक सुरक्षा भत्ताका लागि यो वर्ष करिब ४२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । ती अधिकारीका अनुसार अब एक हजार रुपैयाँका दरले भत्ता बढाउने हो भने कम्तीमा पनि २१ अर्ब रुपैयाँ थप चाहिन्छ ।

अहिले कर्मचारीको  पनि तलब बढाउनु पर्ने भएकाले सरकार दोहोरो चापमा छ । त्यसैले धेरै बढाउन नसकिने अवस्था रहेको उनको भनाइ छ ।  मुलुकका अर्थशास्त्री र बुद्धिजीवीहरुले भने सामाजिक सुरक्षामा राज्यले धान्ने भन्दा धेरै खर्च बढाउन नहुने बताउँदै आएका छन् । नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस