
काठमाडौं । असार शुर हुनै लागेको छ । सरकारले स्पष्ट नीतिगत व्यवस्था गर्न नसक्दा कुनै वहनामा बर्सेनि धान बाली लगाउने बेलामा युरिया मलको चर्को समस्या खेप्दै आएका किसानलाई यस वर्ष अझ महँगो पर्ने देखिएको छ । समयमा पर्याप्त बजेट निकासा नहुनु र बजेट निकासा भए पनि समयमै कार्ययोजना बनाएर मल खरिद प्रणाली अघि नबढाउँदा नेपाली किसानले बर्सेनि युरिया मलको अभाव खेप्दै आएका छन् ।
अहिले करिब ९ टन जति युरिया मल छ । स्टक सकिदै गएको छ । त्यो साता÷१० दिनमै सकिन्छ । त्यसपछि किसानले मल नपाएर चर्को अभाव व्यहोर्नु पर्ने हुन्छ । अब केही दिनमै युरिया मलको चर्को अभाव हुँदैछ । सरकारले किसानलाई मलको उचित व्यवस्थापन मिलाउन यस आवमा ९ अर्ब रुपैयाँ अनुदान स्वरुप विनियोजन गरेको छ भने आगामी आवको लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय दैनिक करिब १ हजार टन युरिया मल बिक्री हुँदै आएको छ । अहिले मौज्दात रहेको ९ हजार टन करिब ९ दिनमा सकिन्छ । त्यसपछि मल आपूर्ति नभए देशैभर युरिया मलको हाहाकार हुने अवस्था निश्चित देखिएको छ । यस वर्ष त अझ कोभिड–१९ को प्रभावले पनि मल आयातमा समस्या सिर्जना गरेको छ । धानबालीसँगै दोस्रो मुख्य खाद्यान्न बाली मकै गोड्ने समय भएको छ । तर, सरकारी संस्थानले मल आयात गरेका छैन, कृषि प्रधान देश भएपनि देशमा युरिया मल उत्पादन हुँदैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले कोरोना कोभिड १९ का कारण जलमार्ग र सडकमार्ग दुबै अवरुद्ध भएकोले मल ल्याउन नसकिएको बताए । ‘मल लोड÷अनलोड गर्ने कामदार नपाइएका कारण आउनुपर्ने युरिया मल निर्धारित समयमा आउन नसकेको हो,’ उनले भने ‘साल्ट ट्रेडिङ ल्याउने तयारी गरेको २१ हजार ५ सय टन युरिया मल ल्याउँदै छ । उक्त मल समयमा नआए किसानले धानमा मल राख्न पाउने अवस्था रहँदैन ।’
मन्त्रालयले मल झिकाउन भारतीय दूतावासलाई पत्राचार गरिसकेको छ । यद्यपि कोरोना संक्रमण र लकडाउनका कारण यो मल ल्याउन त्यति सहज देखिएको छैन।’
कोभिड–१९ का कारण मुलुक नै लकडाउनमा गएपछि देशभरका किसानलाई युरियाा मलको चरम अभाव हुने देखिएको हो । सरकारी स्वामित्व रहेका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कोभिड– १९ कारण भएको लकडाउनले समयमा युरिया मल आपूर्ति गर्न नसक्दा किसानले यस वर्ष पनि समयमै वर्षे धानबालीमा समयमै मल राख्न नपाउने भएका हुन् । यी दुबै सार्वजनिक संस्थानले कोभिड १९ संक्रमण र लकडाउनका कारण चाहेर पनि बर्खे धानबालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकेको बताइरहेका छन् ।
कृषि सामग्रीले बर्सेनि मलको चर्को अभाव सिर्जना गरी मोटो कमिसन लिएर भारतसँग मल खरिद गर्दै आएको छ । अहिले स्टक पनि सकिएको छ, मल आयात पनि भएको छैन । असार लाग्न लाग्दा पनि मल नपाउँदा किसान सधै मर्कामा परेका छन् । हुन त यो यस वर्षको मामला र विवशता पनि होइन, किसानको दुःख कहिले पनि सरकारले बुझेन भक्तपुरका किसान रामबहादुर केसीले भने ‘जहिले पनि बाली लगाउने बेलामा युरिया मल पाइदैन । जहिले पनि मल समय घट्केपछि आउने गरेको छ ।’
मल वितरण गर्ने ती दुबै संस्थानसँग ९ हजार १ सय ४८ टन मात्रै युरिया मल मौज्दात छ भने १२ हजार ९ सय ७२ टन डीएपी मौज्दात छ ।
कृषि सामग्री कम्पनीका अनुसार ग्लोबल टेन्डरबाट खरिद गर्न लागिएको ५० हजार टन युरिया मल साउन १५ पछाडि मात्रै नेपाल भित्रिने भएको छ । । कम्पनीले एलसी खोल्न ढिलो गरेका कारण मल नेपाल ढिला आइपुग्ने देखिएको हो । कम्पनीले २२ दिनअघिमात्रै एलसी खोलेको छ । चीनबाट २५ हजार र रुसबाट २५ हजार युरिया ल्याउन लागिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन दुई महिनाअघि नेपाल आइपुग्ने गरी धानबालीलाई भनेर ओमानसँग खरिद गरिएको २१ हजार ५ सय टन युरिया नेपाल नआइपुगेको बताएको छ । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण भारतको बन्दरगाहमा लोड अनलोड गर्ने, प्याकिङ गर्नेलगायत काम गर्ने कामदार नपाइँदा समयमा मल आपूर्ति नभएको हो ।
ओमानबाट गुजरातको काब्ला बन्दरगाहमा आइपुगेको कर्पोरेशन युरिया नेपाल भित्र्याउन सरकारले भारतीय सरकारसँग सहजीकरण गरिदिन पत्राचारसमेत गरेको छ । नेपालमा कुल धान खेती हुने क्षेत्रफल १५ लाख ५२ हजार हेक्टर छ । नेपालमा वार्षिक रूपमा ४६ लाख ९२ हजार टन चामलको माग छ ।
प्रतिक्रिया दिनुहोस