aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

यस्तो छ सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च विवरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
यस्तो छ सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च विवरण

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रममण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म आठ अर्ब ३९ करोड रुपैयाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना नियन्त्रणमा गरिएको खर्च पारदर्शी नभएको भन्दै देशब्यापी आन्दोलन सुरु भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संसदमा कोरोना रोकथाम र नियन्त्रणको लागि १० अर्ब रुपैयाँ खर्च  भएको जानकारी दिएपछि सांसदहरुले खर्चको विवरण माग गरेका थिए ।  १० अर्ब रुपैयाँ कहाँ गयो भनेर अहिले सडकमा पनि आन्दोलन भइरहेको छ ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टिन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपैयाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएकोे छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपैयाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ । त्यस्तै, क्वारेन्टिन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपैयाँ खर्च भएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा संलग्न आठ मन्त्रालयमा जम्मा पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा चार अर्ब १० करोड ५५ लाख छ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी, प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड चार लाख ९९ हजार र स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस