
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रममण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म आठ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । कोरोना नियन्त्रणमा गरिएको खर्च पारदर्शी नभएको भन्दै देशब्यापी आन्दोलन सुरु भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।
जेठ २१ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठक लगत्तै प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारी, संसदमा अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणको लागि १० अर्ब रुपैयाँ खर्च भएको जानकारी दिएपछि देशभर सरकारको आलोचना भएको थियो ।
१० अर्ब रुपैयाँ कहाँ गयो भनेर देशभर आन्दोलन भएपछि सरकारले अहिलेसम्म तीनै तहमा गरेर आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरेको हो । १० अर्ब खर्च भएको भनेपनि ८ अर्बको मात्रै हिसाब सार्वजनिक भएको छ । विवतणसहितको हिसाब सार्वजनिक गरेकोमा दुई अर्ब हराएको छ ।
सार्वजनिक विवरण अनुसार सबैभन्दा धेरै रक्षा मन्त्रालयले खर्च गरेको छ । मन्त्रालयले दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक भएको छ । रक्षापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी खर्च गरेको छ । विवरणमा उल्लेख भए अनुसार स्वास्थ्य मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च गरेको हो ।
त्यस्तै, सांस्कृति पर्यटन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार खर्च भएको विवरण सार्वजनिक भएको हो ।
सरकारले सार्वजनिक गरेको विवरण अनुसार स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३, क्वारेन्टाइन व्यवस्थापनमा १३ करोड ५५ लाख ९८ हजार रुपैया खर्च भएको उल्लेख गरिएको छ । सरकारले अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस