काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयकमा राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।
प्रस्ताव अस्वीकार भएपनि संसदमा बोल्न खोजेकी गिरिलाई सभामुख अग्नि सापकोटाले बोल्ने अवसर दिन खोजेका थिए । तर अन्य सांसदहरूले होहल्ला गरे । पूर्ण नक्सा सहितको संविधान संसोधनका विपक्षमा रहेकी गिरिलाई समय दिएपछि सांसदले उनको विरुद्धमा होहल्ला गरेका थिए । आफूलाई बोल्न नदिएको भन्दै उनी संसद बैठकबाट बाहिरिएकी छिन् ।
संविधान संशोधन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न नहुने संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएकी उनले आफूले संसदमा सुरुमा बोल्न पाउनुपर्ने माग गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस