काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताएका छन् ।
नेपालमा हाल ४ देखि ५ हजारको सङ्ख्यामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ भन्दै उनले सरकारले यसलाई बढाएर दैनिक २० देखि २२ हजारको सङ्ख्यामा परीक्षण गर्ने तयारी गरिरहेको बताए ।
स्वास्थ्य राज्यमन्त्री रावतले भारतको सीमामा बसिरहेका नागरिकलाई मापदण्ड अनुसारको क्वारेन्टाइन नहुँदा कतिपय भारतबाट आएका नागरिक सङ्क्रमित भएको बताए ।
सुरूमा सुदूरपश्चिममा केही सङ्क्रमित देखा परिसकेपछि स्वास्थ्य मन्त्रालयले ३५ जना डाक्टर त्यहाँ पठाएको अवगत गराउँदै कोरोना नियन्त्रण गर्न सरकारका तर्फबाट गर्ने सबै काम गरिरहेको जानकारी दिए ।
उनले नेपालमा कोरोना सङ्क्रमित बढ्नुमा विदेश तथा भारतबाट आएका नागरिक मुख्य कारण रहेको बताए । सरकारले कर्णाली प्रदेशलाई कोरोना सङ्क्रमितबाट बचाउन ग्रिनजोनमा राख्न खोजिएको प्रयास पनि असफल भएको उल्लेख गरे ।
भारतमा भएका दाजुभाइ गाउँ आउँदा सङ्क्रमित भएर आएको भन्दै उहाँले गाडीमा पनि हुलमुल भएर सङ्क्रमित हुनुपरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस