aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लकडाउनमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
लकडाउनमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

भद्रपुर ।  झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले लकडाउनको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे ।

यस वर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयवासीको आम्दानीस्तर ह्वात्तै उकासेको छ । उप्रेती आफैँले पनि रु १५ लाखको खरबुजा बिक्री गरेको बताए । हरेक घरले कम्तीमा रु एक लाख र बढीमा रु १० लाखसम्म नाफा आर्जन गरेको किसानको नेतृत्व गरेका उप्रेतीले बताए ।

डिएण्डडी वायो प्लानटेक नामक संस्थामार्फत उप्रेतीले एक्लै खुरबुजा खेतीबाट लाखौँ आर्जन गरेको देखेर सिको गर्दै उनका छिमेकीहरुले यस वर्ष खरबुजा खेती गरेका हुन् । उप्रेतीका अनुसार टोलका एक दर्जन किसानले गरेको खरबुजा खेतीबाट रु ५० लाख आम्दानी भएको छ ।

डिएण्डडी वायो प्लानटेक नामक संस्थाबाटै टोलवासीले खरबुजाको बिरुवा लगेर आफ्ना बारीमा रोपेका थिए । विगतमा मकैखेती हुने गरेको जग्गामा यसपालि खरबुजा लहराएको थियो । किसानलाई प्राविधिक सहयोगसमेत उप्रेतीले नै प्रदान गरेका थिए । 

रोपेको ९० दिनमै खरबुजा फल्छ । गत वर्ष प्रतिकेजी रु ५० मा बिक्री भएको खरबुजा यसपालि लकडाउनका कारण प्रतिकेजी रु ३० मा बिक्री गर्नुपरेको थियो । तैपनि किसान नाफामै रहे । लकडाउन नभइदिएको भए खरबुजाबाट दोब्बर आम्दानी हुने किसानको भनाइ छ । उनीहरुले उत्पादन गरेको खरबुजा झापाबाहिर इटहरी, धरान र विराटनगरमा बिक्री भएको थियो ।

उप्रेतीले यस वर्ष ६० हजार खरबुजाको बिरुवा बिक्री गरेका सथए । उनको नर्सरीमा उत्पादित खरबुजाको बिरुवा चितवन, बारा, सिरहा, नवलपरासीलगायतका जिल्लाका किसानले खरिद गरेर लगेका थिए । 

प्रतिक्रिया दिनुहोस