काठमाडौं । कोरोना भाइरस रोग नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ८३ दिनपछि सोमबारदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुँदै छ । लकडाउनले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले खुलाउन लागेको हो ।
मन्त्रिपरिषद्ले गत साता नै लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र संघसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालयहरू खुलाउनु जरुरी थियो ।
संघिय मामिला तथा सामान्य मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी कार्यालय खोल्ने तयारी गरिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले सरकारले बनाएको आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सोमबारदेखि सबै सेवा सुचारू गर्न लागिएको बताए।
सरकारी कार्यालयमा दुई सिफ्ट
सरकारले सोमबारदेखि सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला गर्न लागिएको हो । कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले एकै दिन दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो ।
सेवाग्राहीको चाप अनुसार कार्यालयको समय तोकिएभन्दा बढी कायम गर्ने अख्तियारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ । अनलाइन र टेलिफोनको माध्यमबाट सेवा प्रवाह गर्न सकिने कार्यालयले सोही माध्यमबाट सेवा प्रवाह गर्ने र आवश्यकता अनुसार टोकन प्रणालीको व्यवस्था गर्न सबै निकायलाई सरकारले आग्रह गरेको छ ।
बन्दाबन्दी सुरु भएदेखि नै सेवाग्राहीको काम रोकिएको मालपोत, कर, राहदानी, लाइसेन्स बनाउने, नागरिकता प्रमाणपत्र लिने, कम्पनी, उद्योग दर्ता लगायतका कार्यालयमा सोमबारदेखि सेवाग्राहीको चाप बढ्ने निश्चित छ । प्रवक्ता अधिकारीका अनुसार सेवा लिने र दिने दुवैले कोरोना भाइरस सङ्क्रमण हुन नदिन आवश्यक स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड
सोमबारदेखि सबै कार्यालयले कार्यालयको मूल प्रवेशद्वारमा कर्मचारी र सेवाग्राहीको शरीरको तापक्रम नापेर मात्र प्रवेश गराउनका लागि थर्मल गन सहित सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्ने छ । ज्वरो नाप्दा १०४ डिग्रीभन्दा बढी ज्वरो देखिए तत्काल स्वास्थ्य संस्थामा पु¥याउन स्थानीय प्रशासन, पालिका र सुरक्षा निकायसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने छ । यसैगरी हात धुनका लागि साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ भने कामको चाप बढी पर्ने कार्यालयमा सेवाग्राहीलाई छुट्टै सेवा प्रवाह गर्न छुट्टै काउन्टरको व्यवस्था गर्नुपर्नेछ ।
कार्यालयमा सेवा प्रदान गर्दा एक कर्मचारीदेखि अर्को कर्मचारीको दुरी कम्तिमा दुुई मिटरको हुनुपर्ने, सेवाग्राहीले लाइनमा सेवा लिदाँ भौतिक दूूरी कायम गर्ने स्पष्ट देखिने गरी चिह्न निर्धारण गर्नुपर्नेछ ।
सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने फ्रन्ट डेस्कका कर्मचारीले अनिवार्यरुपमा पीपीई, पञ्जा, माक्स लगाउनुपर्ने छ । यसैगरी स्वास्थ्य सम्बन्धी मापदण्ड सरकारी कार्यालयले मात्र नभइ सबै गैरसरकारी र उद्योग तथा प्रतिष्ठानमा समेत पूर्णरुपमा पालना गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
सुरक्षा मापदण्डको आवश्यक सहजीकरण, समन्वय र अनुगमन स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारीले गर्नेछ । यसैगरी सङ्घमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गर्ने छ भने सम्बन्धित मन्त्रालयले मातहतका कार्यालयको अनुगमन गर्ने व्यवस्था गरिएको छ । गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस