
काठमाडौं । लकडाउनका कारण समय मै घर बहाल तिर्न नसक्नेलाई घरधनीले निकाला गरेको खबर सामान्य बनेको छ। तल्लो र निम्न वर्गका धेरै मानिसका लागि यस्तो अवस्था अपेक्षित पनि थियो। तर, भने जति भाडा तिरेर बस्न सक्ने लगभग दुई दर्जन भन्दा बढी कार्यालय र व्यवसायले पनि यही बेला झोली-तुम्बा कस्नु पर्ने भएको छ। त्यो पनि सरकारी उर्दीको कारण।
प्रसङ्ग काठमाडौं प्लाजा भवन खाली गर्न नेपाल ट्रष्टको कार्यालयले मङ्गलवार जारी गरेको सूचनाको हो। ट्रष्टको कार्यालयले असार २ गते प्रकाशित गरेको सूचना अनुसार सो भवनमा भएका सबै कार्यालयले आजैका मितिमा भवन खाली गर्नु पर्ने भएको छ। मुक्तिनाथ विकास बैंकको प्रधान कार्यालय समेत रहेको सो भवनमा ४/५ वटा बैंकका शाखा कार्यालय छन्।
सो भवनमा केही होटेल र इन्सुरेन्स कम्पनीका कार्यालय समेत रहेका छन्। त्यसै गरी मर्चेन्ट बैंक र अन्य व्यावसायिक पसल र कर्पोरेट अफिस समेत रहेको भवन तुरुन्तै खाली गर्नुपर्ने भएपछि धेरैलाई कठिनाइ परेको छ।
हुन त कानुन अनुसार सो भवन खाली गर्न त्यहाँ कार्यालय भएकाहरूले अटेर गर्न पाउने कुनै गुन्जायस नै छैन। नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको काठमाडौँ महानगरपालिका वडा न. ३१ कमलादी स्थित कित्ता न. २२३५ मा बनेको सो भवनले ५ रोपनी २ दाम जमिन ओगटेको छ। नेपाल ट्रष्टले सो भवन २०६६ पौष २३ गते पुरानो सम्झौता अद्यावधिक गर्दै कन्सेप्ट डेभलपर्स प्रालीलाई भाडामा दिएको थियो। सो सम्झौताको अवधि २०७७ असार २ गते समाप्त भएसँगै नेपाल ट्रष्टले भवन खाली गर्न सूचना प्रकाशित गरेको हो।
आफ्नो स्वामित्वमा रहेको अधिकांश जमिन र भवन यती समूहलाई विभिन्न प्रयोजनका लागी भाडामा लगाएर आलोचना व्यहोर्दै आएको नेपाल ट्रष्टले यो भवन पनि अब प्रक्रिया मिलाएर कतै कौडीको मूल्यमा सोही समूहलाई सुम्पन लागेको त होइन भन्ने आशङ्का व्यक्त गर्ने पनि प्रशस्तै भेटिएका छन्।
प्रतिक्रिया दिनुहोस