aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

एक वर्षलाई आयात धान्ने विदेशी मुद्रा छ : राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
एक वर्षलाई आयात धान्ने विदेशी मुद्रा छ : राष्ट्र बैंक

काठमाडौं । दश महिनाको तथ्यांक सार्वजनिक गर्दै नेपालमा एक वर्षलाई पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्ष २०७६÷७७ को दश महिनासम्मको आयातलाई आधार मान्दै राष्ट्र बैंकले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । 

मंगलबार केन्द्रीय बैंकद्वारा जारी रिपोर्ट अनुसार बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.२ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

दश महिनामा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८९.७ प्रतिशत र ३१.२ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

२०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बृद्धिभई २०७७ बैशाख मसान्तमा १२३५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको देखिन्छ ।

त्यस्तै, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा २०७७ बैशाख मसान्तमा रु.१०७५ अर्ब १९ करोड रहेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १३६ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा २०७७ बैशाख मसान्तमा १६० अर्ब ७ करोड रुपैयाँ छ । २०७७ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस