
बेलायत । कोरोना भाइरसका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई बचाउन डेक्सामेथासोन नामको औषधि उपयोगी हुने विज्ञहरुले बताएका छन् ।
बीबीसीका अनुसार बेलायतका विज्ञहरुले यसको प्रयोग उपयोगी हुने बताएका हुन् । यदी युकेमा सुरुदेखि नै यस औषधिको प्रयोग गर्न पाइएको भए कम्तिमा ५ हजार मानिसको जीवन जोगिने उनीहरुको दावी छ ।
सर्वसुलभ र सस्तो मानिने यस औषधिले भेन्टिलेटरमा राखिएका र अक्सिजनमा राखिएका बिरामीको ज्यान बाँच्नसक्ने बताइन्छ । विज्ञहरुका अनुसार भेन्टिलेटरमा राखिएका प्रत्येक ८ बिरामीमा एक र अक्सिजन दिइएका २५ मध्ये एकको ज्यान बाँच्ने बीबीसीले उल्लेख गरेको छ ।
कोरोना भाइरसको उपचार विधिबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरुका लागि डेक्सामेथासोनको प्रयोग उपयोगी हुन्छ भन्ने थाहा पाउनु एक उल्लेखनीय उपलब्धि ठानिएको छ । सस्तो मुल्य पनि रहेको यस औषधि विपन्न देशहरुका लागि थप उपयोगी रहेको विज्ञहरुको सुझाव छ ।
१९६० देखि नै प्रयोगमा आएको यो औषधि पुरानो पनि हो । जुन दम र रुमटोइड अर्थाइटिसको उपचारका लागि प्रयोग हुने गर्छ । संसारका विपन्न देशमा तत्काल उपयोगी हुने भएपछि यसको परीक्षणको परीणामलाई पनि छिट्टै सार्वजनिक गरिएको छ । बिरामीलाई यो औषधि नसाबाट दिने गरिन्छ । केहीलाई चक्कीको रुपमा पनि सेवन गराइन्छ ।
प्रतिक्रिया दिनुहोस