महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो ।
जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी वासुकी चौधरी र शशिकान्त चौधरीबीच आपसी झै–झगडा र गालीगलौज हुँदा शशिकान्त चौधरीले वडाध्यक्षलाई फोन गरेर बोलाएपछि वडाध्यक्ष र उनीसँगै आएका आठ-१० जनाको समूहले वासुकी चौधरीलाई मरणासन्न हुनेगरी कुटपिट गरेर गम्भीर घाइते बनाएको निजकी आमा महामायादेवीले आरोप लगाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
वडाध्यक्ष राउतका साथै उनीसँगै आएका सुशील राउत, दिलीप राउत, राजु शर्मा, उदय रायसहित आठ÷१० जनाको समूहले वासुकी चौधरीलाई विवाद समाधानका लागि वडा कार्यालयमा जान भनेको तर उनले आफू पहिला प्रहरीमा जाहेरी दिने र त्यसपछि मात्रै वडामा जाने भनेपछि वडाध्यक्ष राउतसहित पूरै समूहले उनलाई भुइँमा लछारपछार गर्दै मरनासन्न गरी कुटपिट गरेको प्रहरीले उनकी आमालाई उद्धृत गर्दै जनाएको छ । वडाध्यक्षसँगै हातमा लगाउने फलामको फाइबर हतियारसहित आएका उनका साथीले वासुकी चौधरीको अनुहार, टाउकोमा कुटपिट गरेपछि उनी लडेका थिए भने लडेपछि पनि बुटले उनको छाती र शरीरभरि कुटपिट गरी उनलाई गम्भीर घाइते बनाएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस