aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
नीति तथा कार्यक्रम

व्यवसाय जोगाउने प्रयासमा महानगरपालिका, काठमाडौं सिटी ब्राण्डिङको कार्य द्रुतगतिमा अघि बढाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
व्यवसाय जोगाउने प्रयासमा महानगरपालिका, काठमाडौं सिटी ब्राण्डिङको कार्य द्रुतगतिमा अघि बढाउने


काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र व्यवसाय गर्दै आएका व्यवसायीलाई विशेष सहुलियत प्याकेज ल्याउने भएको छ । कोभिड–१९ कारण व्यापार व्यवसायमा परेको असललाई मध्यनजर गर्दै होटेल, रेष्टूराँ, सपिङमललगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएका महानगर प्रमुख विद्या सुन्दर शाक्यले बताएका छन् । 
आज बिहीबार महानगरको आगामी आवको २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सहुलियत दिने नीति लिएको हो ।

महानगरभित्र रहेका उद्योग, व्यवसायको प्रवद्र्धनका लागि स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रवद्र्धन मेला आयोजना गर्ने नीति महानगरले लिएको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई  काठमाडौंको बारेमा पहिचान गराउन काठमाडौको सिटी ब्राण्डिङ कार्य द्रुतगतिमा अघि बढाउने भएको छ । हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न विशेष नीति पनि सरकारले लिएको छ । 

महानगरले आगामी आवको नीति तथा कार्यक्रममा उद्यम व्यवसाय गर्न चाहने स्थानीयवासीलाई वित्तिय संस्थाहरूको सहकार्यमा व्यवसायिक कार्य योजना बनाउन तथा सहुलियत ऋणको लागि सहजीकरण गर्ने नीति लिने उल्लेख गरिएको छ । 

रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने

निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायी तथा स्थानीय समुदायसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको व्यवस्था मिलाउने नीति लिएको छु,’ महानगरप्रमुख शाक्यले भने । कोरोनाका कारण विशेष प्रभावित पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा ल्याउन सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्ने नीति लिएको शाक्यले बताएका छन् । 

‘आर्थिक समृद्धिमा पर्यटन’ भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, सम्बद्र्धन र विस्तारमा जोड दिने नीति स्थानीय सरकारले लिएको हो । 

होडिङ बोर्ड पूर्ण रुपमा हटाउने 

काठमाडौं महानगरपालिकाले आगामी आवमा पूर्ण रुपमा विज्ञापनका होडिङ बोर्डहरू हटाउने भएको छ । 
शहरको सौन्दर्य र सुरक्षामा आँच आउने गरी विज्ञापन सामग्रीहरु राख्ने कार्यलाई पूर्णतः निषेध गर्ने नीति महानगरले लिन लागेहो । विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न डिजिटल बोर्डमा जाने मापदण्ड तयार गर्ने नीति महानगरले लिएको छ ।

करदाताको तथ्यांक संकलन गर्ने

काठमाडौं महानगरपालिकाले करदाताको तथ्यांक संकलन गर्ने भएको छ । करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने नीति सरकारले लिएको छ । यसका लागि महानगरले सम्पूर्ण करदाताहरुको तथ्याङ  संकलन गरी अभिलेख पनि अद्यावधि गर्ने नीति लिन लागेको हो । 

करदाताहरुको अभिलेखन वर्ष घोषणा गरि वैज्ञानिक र एकीकृत करदाता अभिलेख तयार गर्न आवश्यकतानुसार यसको व्यवस्थापनका लागि स्नातक र स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गर्ने भएको छ । महानगरको आन्तरिक स्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासन, दायरा विस्तार, करको दर पुनरावलोकन, राजस्व चुहावट नियन्त्रणमा समेत विशेष ध्यान दिने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस