
काठमाडौं । कोभिड–१९ का कारण शिथिल भएका एसियाका विकासशील देशको अर्थतन्त्रको वृद्धिदर ऋणात्मक हुने भएका छन् ।एसियाली विकास बैंकले सार्बजनिक गरेको एसियाली विकास पूरक आउटलुकमा चीनबाहेक अन्य देशको अर्थतन्त्रमा भने कोरोना भाइरसको गहिरो प्रभाव पर्ने देखिन्छ ।
बैंकको अध्ययन अनुसार पुरै एसियाले कोरोनाको मार खेप्दा चीनमा भने ठूलो असर नपर्ने बताएको छ । कोभिड–१९ रोकथाम उपाय लकडाउनका कारण आर्थिक गतिविधि प्रभावित हुनु तथा बाह्य माग कमजोर हुनाले विकासशील एसिया मुस्किलले उकालो लाग्ने देखिन्छ ।सन् २०२० मा चीनको अर्थतन्त्र १ दशमलव ८ प्रतिशतले विस्तार हुनेछ । जबकि ३४ एसियालीको आर्थिक वृद्धिदर नकारात्मक हुनेछ ।
२०२० मा दुई टापु देश फिजी र माल्दिभ्सको आर्थिक वृद्धिदर दोहोरो अंकले नकारात्मक हुने एसियाली विकास बैंकको निष्कर्ष छ । एसियाली विकास बैंकले यसअघि प्रकाशन गरेको आउटलुकमा पनि दुवै देशको अर्थतन्त्र सामान्य दरले खुम्चिने प्रक्ष्येपण गरिएको थियो ।
कुक्स आइल्यान्ड भानुआटु र पलाउको आर्थिक वृद्धि पनि करिब १० प्रतिशतले नकारात्मक रहने एडीबीको अनुमान छ । यसअघिको अनुमानमा यी देशको आर्थिक वृद्धिदर ऋणत्मक हुने बताइएको थियो ।अघिल्लो अनुमानभन्दा उल्लेखित देशको आर्थिक वृद्धिदरमा ५ देखि ११ प्रतिशतको प्रभाव पर्ने बताइएको छ । सबै देश पर्यटकीय गन्तव्य हुन् ।
आर्थिक वृद्धिदर नकारात्मक हुनेमा दक्षिण एसियाका ५ देश छन् । बैंकका अनुसार बंगलादेश, नेपाल र भुटानबाहेक सबै दक्षिण एसियाली देशको अर्थतन्त्र खुम्चनेछ । त्यसमध्ये बंगलादेशले सर्वाधिक ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ । यो आर्थिक वृद्धिदर एसियाका सबै देशमध्ये उच्च हो ।
एडीबीको आउटलुकमा सन् २०२० मा अफगानिस्तानको आर्थिक वृद्धिदर ४.५ प्रतिशतले, भारतको ४ प्रतिशतले, पाकिस्तानको ०.४ प्रतिशतले र श्रीलंकाको ६.१ प्रतिशतले नकारात्मक हुने उल्लेख छ । भुटान र नेपालको भने क्रमशः २.४ र २.३ प्रतिशतले उकालो लाग्नेछन् ।
एडीबी पूरक आउटलुकमा पूर्वी एसियाबाहेक सबै क्षेत्रगत आर्थिक वृद्धिदर नकारात्मक रहने उल्लेख छ । पूर्वी एसियामा चीन र ताइवानको सकारात्मक आर्थिक वृद्धिले साथ दिएको छ । तर, बाँकी देशहरू हङकङ, मंगोलिया र कोरियाको आर्थिक वृद्धिदर भने नकारात्मक हुनेछ ।
पूरक आउटलुकमा उत्तर कोरिया, जापान, मध्यपूर्वी एसियाबारे उल्लेख गरिएको छैन । जसमा तीन दक्षिण एसियाली देशबाहेक तुर्किमेनिस्तान, उज्वेकिस्तान, चीन, ताइवान, ब्रुनाई, म्यान्मार, भियतनाम, किरिबाटिर टुभालुको अर्थतन्त्र विस्तार हुने उल्लेख छ ।
यसरी विकासशील एसियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतबाट संशोधन गर्दै ०.१ प्रतिशत कायम गरेको छ । यो आर्थिक वृद्धिदर सन् १९६१ यताकै न्यून हो । एडिबीले २०२१ मा यो क्षेत्रको वृद्धिदर ६.२ प्रतिशत हुने अनुमान पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस