aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

आधुनिक सपिङ मलहरु सुरक्षित छन्, प्रतिबन्ध लगाउन जरुरी छैनः उज्वल के.सी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
आधुनिक सपिङ मलहरु सुरक्षित छन्, प्रतिबन्ध लगाउन जरुरी छैनः उज्वल के.सी

काठमाडाैं । कोभिड १९ को संक्रमण रोकथामको उद्देश्यले चैत ११ देखि सरकारले लागू गरेको लकडाउनको म्याद जेठ ३२ गते सकियो । लकडाउनले गर्दा सर्वसाधारणको रोजीरोटी खोसिने देखि सरकारलाई कर्मचारीको तलब खुवाउने पैसाकै अभाव भएपछि सरकारले व्यवसाय र सर्वसाधारणको आवमगनमा लगाइएको प्रतिबन्ध केही खुकुलो बनाएको हो । 

सरकारको उक्त कदमसँगै सर्वसाधारणले थोरै भएपनि राहतको सास फेर्न पाएका छन् । सरकारको उक्त कदमले दिनभरी कमाएर बिहान–बेलुकाको छाक टार्नु पर्ने मजदुर लगायत भाडाको घरमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमी, व्यवसायीलाई राहत हुने निश्चित छ । सरकारले झण्डै तीन महिना देखि ठप्प रहेको व्यवसाय सञ्चालन गर्ने अनुमति दिए पनि सपिङ मलहरु माथि भने प्रतिबन्ध कायमै राखेको छ । 

सुरक्षा, सरसफाइ एवं अन्य सुविधाका हिसाबले परम्परागत पसल र किनमेल केन्द्रको तुलनामा निकै व्यवस्थित सपिङ मल माथिको प्रतिबन्धले सर्वसाधारण र व्यवसायी सन्तुष्ट देखिएका छैनन् । स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड अवलम्बन नगर्ने परम्परागत पसल र सपिङ सेन्टरहरु खोल्न पाउने तर आधुनिक सुविधा सम्पन्न मल खोल्न नपाउने सरकारको निर्णयबाट सम्बद्ध व्यवसायीले विभेदको अनुभूति गरेको मल व्यवस्थापक उज्वल केसी बताउँछन् । करोडौं लगानी डुब्ने तथा हजारौंको रोजगारी खोसिने खतरा झन्झन् बढेको उनको जिकिर छ ।

सामान्यतया कुनै रोग र महामारीको जोखिम नभएको अवस्थामा पनि सपिङ मलहरुले सरसफाइमा संक्रमण मुक्त रसायनहरु प्रयोग गर्दै आएका हुन्छन् । व्यवस्थि तर सफा शौचालय फराकिलो ठाउँ तथा उपयुक्त पूर्वाधारका कारण आधुनिक सपिङ मलहरुमा सामान्य अवस्थामै पनि कोभिड १९ को संक्रणण रोक्न अपनाउनु पर्ने दुई मिटरको सामाजिक दुरी कायम भइरहेको हुन्छ । त्यसमाथि कोरोनाभाइरस संक्रमणको जोखिम रहेको अहिलेको अवस्थामा परम्परागत किनमेल केन्द्रहरुमा भन्दा सपिङ मलमा विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न÷गराउन सजिलो हुने व्यवस्थापक केसी बताउँछन् ।

सपिङमल सञ्चालक एवं त्यहाँ व्यवसाय गरेर बसेका व्यवसायीहरु अहिलेको परिप्रेक्ष्यमा स्वास्थ्य सुरक्षा र सरसफाइ प्रति अझ बढी सजग रहेको उनी दावी गर्छन् । पर्याप्त सुरक्षाकर्मी, सिसी क्यामेरा तथा पर्याप्त स्थानले गर्दा सपिङ मलमा आउने ग्राहकले सुरक्षा सावधान अपनाए÷नअपनाएको, स्यानिटाइजर प्रयोग गरे÷नगरेको जस्ता कुराको अनुगमन गर्न सपिङ मलमा सजिलो हुन्छ । 

परम्परागत किनमेल केन्द्रमा भन्दा फरक आधुनिक सपिङ मलहरुमा नगदको प्रयोग नगरिकन र बिक्रीका लागि राखिएका सामानहरु धेरै नचलाइकनै किनमेल गर्न सकिने सुविधा उपलब्ध भएको पनि केसीको भनाई छ । यस मानेमा आधुनिक सपिङमलहरु परम्परागत किनमेल केन्द्रको तुलनामा धेरै बढी सुरक्षित मानिने उनको तर्क छ । 

सपिङ मलका एउटा आउटलेटमा एकै किसिमको सामान मात्र किनबेच हुने भएकाले पनि त्यहाँ अनावश्यक व्यक्तिहरुको भीडभाड र जमघटको सम्भावना रहँदैन । उदाहरणका लागि जुत्ता बिक्री गर्ने पसलमा अन्य सामान खोज्ने ग्राहक जाँदैन र अन्य सामानको पसलमा जुत्ता खोज्ने ग्राहक पुग्दैन । 

यसरी हेर्दा सरकारले आधुनिक सपिङ मलहरु खोल्नमा लगाएको प्रतिबन्ध अत्यन्तै अवैज्ञानिक भएको उनको तर्क छ । तसर्थ विश्व स्वास्थ्य संगठनले तोकेका प्रोटोकल पालना गर्ने गरी सपिङ मलहरु खोल्न दिएर जोखिममा परेको अर्बौं लगानी र हजारौं रोजगारी बचाउनु पर्ने भएकाले पनि मलहरु खोल्न दिनुपर्ने उनी बताउछन् । बेलैमा यसतर्फ कदम चाल्न नसके बेरोजगारी र चर्को ऋणभारले निम्त्याउने सामाजिक तनावको सिकार हामी नै हुनुपर्ने पक्का भएको केसी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस