
काठमाडाैं । उपत्यकामा आम सर्वसाधारणको गतिविधि र आवत जावत बढेसँगै उपत्यका भित्रिनेकाे संख्या बढेपछि रजधानी प्रवेश गर्ने नाका कडा पारेकाे छ । दिनानु दिन बढ्दै गरेकाे काेराेनाभाइरस (काेभिड-१९) संक्रमितकाे सँख्या उपत्यकामा पनि दिनानुदिन बढेपछि चेकजाँचमा कडाइ गरेकाे हाे ।
राजधानी काठमाडौँ उपत्यकाभित्र पसलहरू बिस्तारै खुलिरहेका छन् भने सडकमा यातायातका साधन पनि बाक्लिन थालेका छन् ।’ असार १ गतेदेखि सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरी दैनिक कामकाजमा सहजता अपनाएको छ । त्यसको प्रभाव भने उपत्यकाको सबै नाकामा परेको छ ।
लकडाउन खुकुलो भएको हल्लाले अत्याधिक सवारीसाधन उपत्यका छिर्न खोजिरहेका छन् तर प्रहरीले बिना पासका सवारीसाधन छिर्न नदिएको बताएको छ । काठमाडौँ उपत्यकाको पश्चिम नाका नागढुङ्गा र पूर्वी नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमाथि चेकजाँच कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उपत्यका बाहिरका जिल्लामा कोरोना संक्रमित संख्या बढेपछि उपत्यका प्रवेश गर्ने मुख्य ६ नाकामा कडाइ गरिएको हो । काठमाडौँ उपत्यका छिर्नेमध्ये बढी व्यस्त रहने नागढुङ्गा, फर्पिङ र साँगा नाकाबाट सवारीसाधन प्रवेशमा थप कडाइ गरिएको प्रहरीको दावी छ ।
पैदलयात्री प्रवेशमा समेत कडाइ गरिएकाले बिना पास कुनै पनि व्यक्ति नाकाबाट उपत्यका छिर्न नपाउने काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । ‘पैदलयाुत्रलाई फर्काइएको यकिन विवरण छैन,’ एसएसपी ज्ञवालीले भने, ‘कोही सवारी साधन तलतिरै रोकेर पैदल हिँडेर आउँछन्, तर त्यस्तो होइन, पैदलयात्रुलाई पनि फर्काइनेछ ।’
नागढुङ्गा र साँगामा प्रहरीले सवारी पास नभएका दुई पांग्रे तथा चार पांग्रे गाडीलाई जताबाट आएका हुन् उतै फर्काइदिएका छन् । ‘एम्बुलेन्समा आएका सामान्य बिरामी र सुतेर आउने मानिसलाई पनि फर्काउने गरेकाे छ । ‘बाहिरी जिल्लाबाट छोराछोरीको अनलाइन कक्षा सुरु भयो भनेर आएका अभिभावकलाई पनि फर्काएकाे प्रहरीले जनाएकाे छ ।
उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो रहेको प्रहरीकाे दावी छ । नागढुङ्गाका इन्सपेक्टर थापाका अनुसार बिहीबार बिनापास उपत्यका छिर्न खोज्ने एक सय बढीलाई बिहीबार फिर्ता गरिएको छ ।
लकडाउन खुकुलो भएको भन्दै उपत्यका प्रवेश गर्नेहरुको लर्को लागेपछि प्रहरीले नाकाका भित्रि सडकहरुमा पनि सुरक्षा व्यवस्था कडाई पारेको एसएसपी ज्ञवाली बताउँछन् । अत्यावश्यक सेवाका सवारीसाधन, खाद्यान्न, एम्बुलेन्स र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेक अन्य सवारी साधनहरूलाई काठमाडौँ प्रवेशमा रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस