aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

प्रदेश नं.१ को बजेट माथिको छलफल सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
प्रदेश नं.१ को बजेट माथिको छलफल सम्पन्न

विराटनगर । प्रदेश नं.१ प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०७७/७८ का लागि राजश्व, आय र व्यय’को वार्षिक अनुमान माथिको छलफलमा सदस्यले बोल्ने क्रम सकिएको छ । 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री आङबोले बजेटले प्रदेश समृद्धिको आधार तयार हुने बताए । उनले बजेट एक राजनीतिक दस्तावेज भएको उल्लेख गर्दै निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम चालु खर्चमै राखिएकाले यस शीर्षकमा रकम बढी देखिनु स्वभाविक हो भने । 

मन्त्री आङबोले कृषिमा उत्पादन बढाउन, भण्डारण र बजारीकरणको दायित्व सरकारले लिएको र यसैको माध्यमबाट स्वरोजगारी सिर्जना गर्न सरकार तयार रहेको बताउँदै विदेशबाट फर्कने युवाहरुलाई कृषि क्षेत्रमा स्वरोजगार बनाउने योजना बजेटले लिएको स्पष्ट पारे । उत्पादन किसानको र बजार मूल्य सरकारको समाजवादी कार्यक्रम हो भन्दै उनले सरकार सिँचाइ, वैकल्पिक ऊर्जा, पर्यटन र निर्माण क्षेत्रमा रोजगारी सिर्जना गर्न पर्याप्त बजेट विनियोजन गरेको छ भने । 

ठूला पूर्वाधार निर्माण गर्नुपर्ने तथा प्राथमिकतामा रहेका पुरानो योजनालाई निरन्तरता दिनुपर्ने कारणले बजेटको आकार ठूलो भएको चर्चा गर्दै उहाँले सरकार कोरोना उपचार, रोकथाम र नियन्त्रण गर्न बजेटको व्यवस्था गरेको बताए ।  
 
यसअघि बजेट छलफलमा भाग लिदैं प्रदेशसभा सदस्य सूर्यमाराज राईले स्वर्गीय मदन भण्डारीको उचाइ र सम्मानलाई कम गर्न नहुने बताउनुभयो । सदस्य केदार कार्कीले बजेट मजदुर र सर्वहाराहरुका लागि नभएको टिप्पणी गरे । 

सदस्य जयराम यादवले कोरोनाको महामारीका समयमा आएको यो बजेट कार्यान्वयनमा समस्या आउन नदिन सरकार गम्भीर बन्नुपर्छ भने। सदस्य नवोदिता कुमारी चौधरीले कोरोना सङ्क्रमितको उपचारका लागि सरकारले १०० शय्याको छुट्टै अस्पताल निर्माण गर्न बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिए । 

सदस्य बलबहादुर साम्सुहाङले आर्थिक सर्वेक्षण गरेर ल्याएको यो बजेट घाटा बजेट हो र यो घाटा उठाउन सरकारले राजश्व असुल गर्न व्यापक छलफल गर्नुपर्ने जरुरी रहेको बताए । सदस्य राजेन्द्रकुमार राईले हाम्रो आम्दानीले चालु खर्च पनि धान्न मुस्किल पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

 सदस्य लक्ष्मण तिवारीले सारमा बजेट राम्रो छ र प्रदेश सरकारलाई आउने अनुदान घट्न जानुमा बहस गर्न पर्ने बताए । सदस्य निलम बस्नेतले लक्षित राजश्व उठाउन प्रशासनलाई चुस्त र दुरुस्त बनाउनुपर्नेमा जोड दिए । सदस्य लोकप्रसाद सङ्ग्रौलाले बजेटको समीकरण आन्तरिक आय, अनुदान र राजश्वबाट बनेको यो बजेटले स्रोतहरुको खोजीमा ध्यान नदिएको टिप्पणी गरे ।

 सदस्य शिवनारायण गनगाँईले बजेटको अङ्क ठूलो बनाएर यसको सफलता नहुने तर्क गर्दै बजेटमा आर्थिक वृद्धि दर कति हुने हो प्रष्ट छैन भने । सदस्य हिमाल कार्कीले यथार्थमा बजेटले सरकारको खर्च क्षमतामा प्रश्न उठाएकाले यसमा गम्भीर बन्न आग्रह गरे । सदस्य हिराकुमार थापाले दक्ष जनशक्तिको अभावमा सरकारले बजेट खर्च कम भएकाले सरकार दक्ष जनशक्ति निर्माणमा लाग्नुपर्ने प्रतिक्रिया दिए । 

प्रतिक्रिया दिनुहोस