aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सार्वजनिक यातायात चल्ने कि नचल्ने एक सातामा थाहा हुने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०५ असार २०७७
सार्वजनिक यातायात चल्ने कि नचल्ने एक सातामा थाहा हुने

काठमाडौं । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका १ साताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ ।

यातायात सञ्चालनका लागि तयारीका काम पनि भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । तर, सार्वजनिक यातायात कहिलेदेखि सञ्चालन गर्ने भन्ने कुराको टुङ्गो सरकारले नगर्दा अन्योल रहेको विभागले जनाएको छ ।

सञ्चालन गर्ने वा नगर्ने भन्ने कुराको कुनै जानकारी विभागलाई दिइएको छैन तर बन्दाबन्दी बिस्तारै खुकुलो बनाउँदै गएपछि यातायात पनि सञ्चालन हुन्छ होला भन्ने अनुमानले विभागले काम गरिरहेको छ ।

हालकै अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्नुपरे कसरी गर्ने भनेर विभागले नयाँ निर्देशिका तयार गरेको हो तर यातायात व्यवसायीले नयाँ निर्देशिकामा असहमति जनाएपछि छलफल लम्बिएको हो ।
 
सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने मिति घोषणा नगरेका कारण विभाग अन्योलमा छ । नयाँ निर्देशिकामा कोरोनाबाट सुरक्षित रहेर सवारी सञ्चालन गर्नुपर्ने प्रावधान छन् । सुरक्षित रहन प्राविधिक मापदण्ड बनाइएको छ ।


सार्वजनिक सवारी सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, सबै सिटमा यात्रु राख्न नपाइने, मास्क, पञ्जा तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिने छ ।

साथै यात्रुको ज्वरो नाप्नेसम्मका प्रावधान छन् । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सामाजिक दूरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने जनाएको छ । त्यसका लागि सरकारले भाडा वृद्धि गर्नुपर्ने वा कुनै अनुदानको व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ ।  

प्रतिक्रिया दिनुहोस