aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

निजी क्षेत्रलाई प्रोत्साहन गर्न कर छुटका कार्यक्रमहरु ल्याउँदैछौँः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
निजी क्षेत्रलाई प्रोत्साहन गर्न कर छुटका कार्यक्रमहरु ल्याउँदैछौँः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । निजी क्षेत्रलाई प्रोत्साहन दिइने पनि उनको भनाई छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री डा. खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि बढ्न सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच पनि अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताए । 
 
“श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति शृङ्खलालाई सहज गरिनेछ । अहिले पनि आयातमा क्रमिक सुधार हुँदैछ । हामी निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौं । आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ ।”
 
मन्त्री डा. खतिवडाले कोरोना संकट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढंगले जान्छ भन्नेमा नै अर्थतन्त्रको विकासमा भर पर्ने बताए । आगामी आर्थिक वर्षको राजस्वको शीर्षकगत बाँडफाँट अन्तर्गत राजस्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण पनि उनले अवगत गराए । सरकारले आगामी आवका लागि १० खर्ब ११ अर्बको राजस्व लक्ष्यसहित त्यसको २९.९५ मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको छ । 

प्रतिक्रिया दिनुहोस