
काठमाडौं । सरकारले मरिच आयातमा लगाउँदै आएको प्रतिबन्ध केही खुकुलो बनाएको छ । अर्थ एवं संचार तथा सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद निर्णय सुनाउँदै मरिचको आयातमा लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाउने निर्णय गरिएको बताएका हुन् ।
खतिवडाका अनुसार अब उद्योग विभागको सिफारिसमा उद्योगले कच्चा पदार्थको रुपमा सीमित परिमाणमा मरिच आयात गर्न पाउनेछन् । ‘औद्योगिक कच्चा पदार्थको रुपमा आवस्यक पर्ने मरिच सम्बन्धित उद्योगको क्षमता र खपतका आधारमा उद्योग विभागले प्रमाणित गरेको परिमाण बराबर उद्योग आफैले आयात गर्न सक्नेछ,’ खतिवडाले सरकारको निर्णय सुनाउँदै भने, ‘तर छोकडा, केराउ र मदिरालगायत वस्तुको आयातमा भने प्रतिबन्ध कायम नै रहेको छ।’ राजपत्रमा औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा मरिच आयात खुलाउने प्रतिबन्धात्मक वाक्यांश थप भएको उनले बताए।
सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ को उपदफा २ बमोजिम २०७६ चैत २४ गतेको राजपत्रमा मरिच, केराउ, छोकडा, मदिरालगायत वस्तुहरुको आयात प्रतिबन्ध लगाएको सूचना प्रकाशित गरेको थियो।
प्रतिक्रिया दिनुहोस