
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक खरिद गरिएको स्वास्थ्य सामाग्रीको टेन्डरमा सरकारलाई १४ करोड ८७ लाख बचत भएको जनाएको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा. रमेश खरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले १ लाख ५० हजार पीसीआर परीक्षण आवश्यक पर्ने रियजेन्ट तथा किट खरिदका लागि आह्वान गरेको टेन्डरमा सरकारलाई १४ करोड ८७ लाख रुपैयाँ बचत भएको बताएका हुन् ।
स्वास्थ्य सेवा विभागले कम मूल्यमा प्रस्ताव गरेका ११ कम्पनीलाई छाडेर महँगोमा १२ औं नम्बरमा प्रस्ताव गरेको कम्पनीलाई टेन्डर पारेपछि आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको थियो। कम मूल्यांकन गरेका ११ कम्पनीको प्रस्तावलाई अस्वीकार गर्दै विभागले २७ करोड २१ लाख रुपैयाँ प्रस्ताव गरेको १२ औं कम्पनी ओम सर्जिकल कन्सर्न प्रालिलाई टेन्डर स्वीकृत गरिएको थियो।
‘प्राविधिक विज्ञहरुको लिखित प्रतिवेदनको आधारमा ११ नम्बरसम्मका बोलपत्र दाताहरुले निर्धारित मापदण्ड नपुगी प्राविधिक रुपमा असफल रहेकाले बोलपत्र अस्वीकृत गरिएको हो’, डा.खरेलले भने, ‘प्राविधिक रुपमा सफल बोलपत्रमध्ये न्यूनतम मूल्यांकन गरेको र एक नम्बरमा रहेको ओम सर्जिकल कन्सर्न प्रालिको बोलपत्र स्वीकृत गरेको जानकारी गराउँछु।’
उनले सरकारले उक्त स्वास्थ्य सामग्री खरिदका लागि ४२ करोड ८ लाख ११ हजार ५ सय रुपैयाँ छुट्टाएको र कम्पनीसँग २७ करोड २१ लाखमा सम्झौता भएको जनाए। ‘स्वीकृति बजेटबाट १४ करोड ८७ लाख अर्थात ३५.३४ प्रतिशत रकम नेपाल सरकारको कोषमा बचत भएको छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस