
काठमाडौं । सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।
कोरोना संक्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गराउन पनि भनिएको छ । यसका लागि सुरक्षा निकाय, सेवा प्रदायक, सेवाग्राहीको जिम्मेवारी, नागरिकको दायित्वसमेत उल्लेख गरेर मापदण्ड तय गरिएको छ ।मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मापदण्ड उल्लंघन गर्नेमाथि अत्यावश्यक सेवा ऐन २०१४, संक्रमक रोक रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ ।
यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि सुरक्षा मापदण्डमा समेटिएको छ । कार्यस्थल, सार्वजनिकस्थल तथा अन्य काममा बाहिर निस्कँदा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्न र नियम पालना गरे नगरेको अनुगमन गर्न पनि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस