aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

नेपालको भूमि एक वित्ता पनि छोड्ने होइन : अनिल शाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ असार २०७७
नेपालको भूमि एक वित्ता पनि छोड्ने होइन : अनिल शाह
अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत नबिल बैंक लि. तस्विरः आर्थिक न्युजडटकम

सामाजिक सञ्जालमा धेरै व्यस्त हुने मान्छे हुँ, म । सामाजिक सञ्जालमा नेपालको नक्सा पोष्ट गर्दा धेरैले मलाई प्रश्न गरे, “दाइ नक्साको पुच्छार खोइ ?” यस्तै कुराहरु कमेन्टमा थिए । कतिपयले “दाइ नक्सा त भएन नि ! तपाई भारत समर्थक हो कि क्याहो ?” समेत भन्न भ्याइसकेका छन् ।

म पनि छोटे राजाको छोरा हुँ र भन्छु – ‘नेपालको भूमि एक वित्ता पनि छोड्ने होइन ।’ यो बेला राणा शासनको होइन, पञ्चायती युग पनि होइन । बहुदलिय व्यवस्था मात्र पनि होइन यो । अर्बौं खर्च गरेर दुई पटक संविधानसभा निर्वाचन गरेर ६०१ जना सभाषदहरुलाई संविधान बनाउन पठायौं ।

तर, उहाँहरुले त्यो बेला नेपालको भू्भाग किन देख्नु भएन ? त्यति बेला किन हस्ताक्षर गर्नु भयो ? के यो नक्सा राणाकालमा बनाएको हो ? पञ्चायती व्यवस्था बनाइएको हो ? पक्कै पनि होइन ।

संविधान लेख्दा नै नेपालको भूभागको बारेमा सभासदहरुले निर्क्यौल गर्नुपर्ने होइन ? त्यसबेला संविधानमा हस्ताक्षर गर्ने क्रममा किन हेरिएन, नक्सा ?  आफ्नो व्यक्तिगत जग्गा एक इन्च मिच्दा हामी काटाकाट गर्छौ तर, देशको सयौ माइल जमिन मिच्दा सबै रमिते ?

नेपाल आमाको औलै निमोठेर लाँदा समेत देशका लागि राजनीति गर्नेहरुले नहेर्ने ? सिमाना कहाँसम्म हो कसले हेर्ने ? के बैंकरले नेपालको भूभाग कहाकहाँ मिच्यो भारतले भनेर हेर्नु पर्ने हो ? यो हेर्ने काम न डक्टर, इन्जिनियर, विद्यार्थीको हो ? यही हेर्नलाई हामीले चुनेर पठाएका सभासदहरुले के गरे ? नेपालको नक्सामा एउटा पिलर यता उता मात्रै होइन पुरौ एउटा औलो जत्रो भूभाग मिच्दा पनि नदेख्ने ?

सबैले अगाडि बढ्नलाई अब एक पटक आत्मालोचना गर्नै पर्छ । यो हामीले गल्ति गर्यौ भनेर राजनीतिक गर्ने नेताहरुले आत्मालोचना गर्नै पर्छ, अब ।

नेपालम र भारतबीच सिमा विवाद थियो नै । यो बिषयमा दिपक्षीय कुराकानी पनि भइरहेका थिए होला तर विवाद सकिएको थिएन । भारत आफैं कस्मिरमा विवाद गरिरहेको छ । त्यहाँको भू –भाग ३० प्रतिशत भारतमा होला अन्य चीन र पकास्तिानमा छ । तर भारतले त्यो पुरै आफ्नो नक्सामा यो भारत नै हो छ भनेर लगातार देखाईरहेको छ ।

नेपालमा नयन संविधान बन्यो । संविधान बनाउने ६०१ जनालाई बोलाएर एक पटक सोध्न पर्यो अब यो गल्ति किन भयो ? गगन थापा जस्ता प्रखर बोल्ने नेताहरुले हस्ताक्षर गर्ने बेलामा आँखा चिम्लिनु भएको रहेछ कि क्या हो भन्ने शंखा लाग्न थाल्यो । यसमा नेपाली काग्रेस होस्, कम्युनिष्ट वा राप्रपा होस् सबैले हामीलाई एक पटक त भन्नै पर्छ कि यो गल्ति के कारणले भयो ?

 हामी बैंकर भएर नराम्रो काम गर्यौं भने बैंकिङ कसुर लगाउने अब नेताहरुले गरेको गल्तिमा उनीहरुलाई के कसुर लगाउने यो चाहि प्रष्ट हुनु पर्दैन । अर्कोकुरा जो सुकिला मुकिला छन्, जो ठूला ठूला अक्षरमा सामाजिक सञ्जालमा आफ्ना स्टाटस लेख्छन् उनीहरुले नेपालको जमिनमा भारतले सडक उद्घाटन गरेको फोटो हालेपछी मात्रै हाम्रा नेताहरुले थाहा पाए ।

हामीलाई यस्तो लागेको थियो तर, यसो होइन रहेछ । यो बाटो त तीन वर्षदेखि बनाइरहेको भारतीय दूतावासका मान्छेले मलाई भनेका छन्।  ती भारतीय अधिकारीले मलाई प्रश्न गरे ‘यो तिमिहरुकै जग्गा हो भने तीन वर्षसम्म किन चुप लाग्यौ ?’ फेसबुकमा बाटो उद्घाटनको हल्ला भएपछी देशको नक्सा मिचेको थाहा पाउने कस्तो देश हो यो रु कस्तो प्रशासन हो, यो ? यसको पछाडिको ‘डिल’ के हो थाहा पाउन पर्छ कि पर्दैन सबैले ?

उहाँहरुले भन्न सक्नु पर्यो कि यो कारणले हामीले संविधानको सस्यौदा बनाउदा राख्न सकेनौं । यत्रो विषय कसरी छुट्यो भन्ने मेरो कौहुलता हो । अर्कोकुरा भारतीय मिडियामा नेपालका सेना, चीन र भारतको सेनाको तुलना गरेर खबरहरु आए । तर, नेपालको भन्दा लाखौ बढी सेना, हतियार भएको देशका आर्मीलाई भने ढुंगाले हानेर मारेछन् ।

मिडियामा यत्रा आर्मी कता गएछन् ? अनि त्यो अत्याधुनिक हतियार कता गएछ ? त्यस कारण सानो भनेर कसैले नहेपे हुन्छ । त्यो त यहाँ बैंकमा पनि छ । त्यसैले ठूलो बैंक हुँ भनेर सानालाई हेप्नु हुँदैन । अनि कुनै पनि व्यक्तिले कसैलाई ठूलो र सानो भनेर होच्याउने काम पनि गर्न हुँदैन ।

(नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आर्थिक न्युजडटकमको आर्थिक वहसमा व्याक्त गर्नुभएको विचार) 

प्रतिक्रिया दिनुहोस