काठमाडौं । नेपालले भारत र चीनलाई सीमा समस्या शान्तिपूर्ण रूपमा सुल्झाउन सुझाव दिएको छ। लद्दाखको गलवान उपत्यका क्षेत्रमा बल्झिएको सीमा समस्याबारे शनिबार नेपालले औपचारिक प्रतिक्रिया दिएको हो। समस्या समाधान गर्न दुवै देश सक्षम रहेको विश्वास नेपालले व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरी नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनका आधारमा विवाद सल्टाउन आग्रह गरेको हो। भारतीय र चिनियाँ सेनाबीच सोमबार राति झडप हुँदा भारतीय सेनाका अधिकृतसहित २० जनाको मृत्यु भएको थियो। उक्त घटनाप्रति संयुक्त राष्ट्रसंघलगायत निकायले पनि चिन्ता व्यक्त गर्दै दुवैलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै आएका छन्।
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवादलाई लिएर भारतको नेपाल सम्बन्धमा खटपट आइरहेको छ। भारत र चीनबीच डेढ महिनायता उक्त क्षेत्रमा तनाव बढ्दो छ। १४ हजार फिट उचाइमा रहेको लेह लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन्। एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप ४५ वर्षकै पहिलो हो । भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ ।
यी दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसपछि लामो समय कूटनीतिक सम्बन्ध थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीन भ्रमण गरेपछि मात्र सम्बन्धमा सुधार आएको थियो। चीन र भारतबीच आधा दर्जन क्षेत्रमा चर्को सीमा विवाद छ । अन्नपूर्ण पोस्टबाट
प्रतिक्रिया दिनुहोस