एजेन्सी । भारतमा विगत २४ घण्टामा १५,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्कले देखाएको छ ।
केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार यो वृद्धिसँगै देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या चार लाख नाघेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्सले सङ्कलन गरेको कोरोनाभाइरसको विश्वव्यापी तथ्याङ्कले भारत सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका, ब्रजिल र रुसपछि चौथो स्थानमा परेको देखाउँछ ।
अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ ।
प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ ।
भारतमा सङ्क्रमण अझै उत्कर्षमा पुग्न बाँकी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
विगत २४ घण्टामा भारतमा १५,४१३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो एकै दिन वृद्धि भएको सर्वाधिक सङ्ख्या हो ।
अहिले भारतमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४,१०,४६१ छ भने तीमध्ये दुई लाखभन्दा बढी व्यक्ति निको भएका छन् । भारतको महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका छन् ।
त्यसपछि तामिलनाडु र दिल्ली धेरै प्रभावित भएका छन् । नेपालसँग सीमा जोडिएका पश्चिम बङ्गाल, उत्तर प्रदेश, बिहार तथा उत्तराखण्ड राज्यमा सङ्क्रमित व्यक्ति भेटिने क्रम जारी छ ।
विश्वभरि झन्डै ८८ लाख जनामा सङ्क्रमण पुष्टि हुँदा ४,६४,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ ।
कुल मृत्युमध्ये एकचौथाइ अमेरिकामा भएको हो ।
प्रतिक्रिया दिनुहोस