aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

दुई घण्टाको काम दुई मिनेटमा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
दुई घण्टाको काम दुई मिनेटमा !

कास्की । कास्कीको नापी कार्यालयमा सेवाग्राहीको भीड घटेको छ। कार्यालयले गत फागुनमा सार्वजनिक गरेको मोबाइल एप सेवाग्राहीले प्रयोग गर्न थालेपछि भीड कम हुन थालेको प्रमुख नापी अधिकृत खिमलाल गौतमले जानकारी दिए।

‘हामीले गत फागुनमा भूमि प्रशासनमा पारदर्शी र सेवाग्राही मैत्री बनाउनका लागि ‘नापी पोखरा एसओकेपी’ एप ल्याएका थियौँ, यसको प्रयोग बढ्दै गइरहेको छ, कोरोना सङ्क्रमणको अवस्थामा सेवाग्राहीले यसको प्रयोेगबाट सेवा लिन थाल्नुभएको छ’ गौतमले भने।

सो एपबाट दैनिक सेवाहरु टोकन लिन, फारम भर्न, कित्ताकाट, हाल र साबिक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिष्ट्रार उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरणजस्ता जानकारी लिने काम एपबाट भएको बताए।

विचौलियालाई रोक्न कार्यालयबाट सेवा लिन आवश्यक विभिन्न निवेदनका ढाँचाहरु एपमा उपलब्ध भएकाले सेवाग्राहीलाई सहज भएको उनको भनाइ छ।

जग्गा प्रशासनको क्षेत्रमा पहिलोपटक शुरु गरिएको सो एपले अहिले कोरोना रोकथाममा भीडभाड नियन्त्रणका साथै समयको बचत अनि विचौलियाको बिगबिगी रोक्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए। ‘नक्सा लिन दुई घण्टा लाग्ने काम अहिले दुई मिनेटमा हुन थालेको छ, सेवाग्राहीले ‘रिक्वेस्ट’ पठाएर टोकन लिनुहुन्छ, त्यहीअनुसार आफ्नो काम र समय तोकेर सेवा प्रवाह हुन्छ’ उनले यसबाट कर्मचारी र सेवाग्राही दुवै लाभान्वित भएको बताए।

उनका अनुसार नापी कार्यालयले बन्दाबन्दी खुकुलो भएपछि दुई सयभन्दा बढीलाई सेवा दिइसकेको छ भने अहिले आधाभन्दा बढी काम एपबाट हुने गरेको छ।

कोभिड–१९ भन्दा अघि एपको प्रयोगाभ्यास त्यति हुन नसकेकामा अहिले प्रयोग गर्ने बढ्न थालेका छन्। कार्यालयमा बन्दाबन्दी अघि दैनिक दुई सय सेवाग्राही आउने गरेको तथ्याङ्क छ। उनले बन्दाबन्दीमा पनि कार्यालय बन्द नगरी राष्ट्रिय योजनाका कामहरु आन्तरिक रुपमा गरिरहेको जानकारी दिए।

एपबाट सेवा लिएका पोखराको मेगा बैंकमा कार्यरत कर्मचारी बिमला गुरुङले छिटोछरिटो सेवाका लागि एप निकै प्रभावकारी भएको बताइन्। ् ‘एपले कार्यालय गएर घण्टौँ कुरेर बस्नुपर्ने समय बचत भएको छ, अहिले झन् प्रयोग उपयुक्त छ’ उनले भनिन। अनलाइनमा ‘रिक्वेस्ट’ पठाएलगत्तै सम्पूर्ण विवरणसहितको जानकारी आउने र केही समस्या भएमा कार्यालयबाट फोन गरेर पनि जानकारी दिने गरेकाले सेवा निकै प्रभावकारी भएको उनको भनाइ छ। रासस 

प्रतिक्रिया दिनुहोस