aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

अब कुकुर पाल्नेलाई पनि कर, अनुमति पनि लिनुपर्ने प्रावधान ल्याइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असार २०७७
अब कुकुर पाल्नेलाई पनि कर, अनुमति पनि लिनुपर्ने प्रावधान ल्याइँदै

काठमाडाैं । काठमाण्डाैंभित्र कुकर पाल्नका लागि अब अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको काठमाण्डाैं महानगरपालिकाले जनाएको छ । रहरका लागि कुकुर पाल्ने तर जनावर बिरामी भएपछि अलपत्र छाड्ने क्रम बढेका कारण नयाँ नियम ल्याउने तयारी गरिएको महानगरको तर्क छ ।

सडक लगायतका सार्वजनिक स्थलमा दिसापिसाब गराउने र फोहोर त्यसै छाड्ने चलन ठूलो समस्या बन्दै गएको अधिकारीहरू बताउँछन् ।महानगरपालिकाले आगामी आर्थिक वर्षका बजेटमा सो योजना प्रस्ताव गरेको र पारित भएर साउन महिनाबाट कार्यान्वयनमा ल्याउने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ ।

नयाँ नियम लागु भए महानगरपालिकाभित्र कुकुर पाल्न कर पनि तिर्नुपर्ने हुन्छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार कर लिएपछि महानगरले सेवा पनि दिने छ ।

उनले भने, "के कति कर लिने भन्ने विषय बजेटमा आउला। तर हामीले कर लिने मात्रै नभएर सेवा पनि दिने योजना बनाएका छौँ ।" "घरमै गएर खोप लगाउने र बन्ध्याकरण गराउने काम पनि हामीले गरिदिने योजना छ ।"

हाल महानगरले समुदायमा रहेका कुकुरलाई हेरचाह गरिरहेको उनले दाबी गरे । घरपालुवा कुकुरलाई अलपत्र छाड्ने अवस्थाको अन्त गर्न महानगरपालिकाले घाँटीमा जीपीएस ट्रयाकरको पनि व्यवस्था गरिने बताएको छ। जीपीएस ट्रयारका आधारमा कुकुर पालेका व्यक्ति लगायतका विवरण उपलब्ध हुने हुँदा अलपत्र छोडिने अवस्थामा सुधार हुने महानगरको अपेक्षा छ ।

कुकरधनी के भन्छन् ?
काठमाण्डू सोह्रखुट्टे निवासी डेनिस केसीको बुझाइमा यस्तो व्यवस्था लागु भएका कुकुर व्यवस्थापनमा सहयोग गर्ने भन्दा पनि समस्या पार्ने देखिन्छ ।

पछिल्लो तीन-चार वर्षदेखि समुदायका कुकुरलाई समेत घरमा पालिरहेका उनी महानगरको निर्णय कार्यान्वयनमा आए आफूलाई निकै गाह्रो हुने बताउँछन् । "बेच्ने प्रयोजन भएको भए त ठिकै हो तर हामी जस्तो माया लागेर कुकर राख्नेहरूलाई त यसले निकै गाह्रो पार्छ," उनले भने । 

"दर्ता गर्नुमा भने समस्या छैन। कर उठाउने विषय भने गाह्रै पर्छ ।"आफूलाई कुकुरप्रेमी भन्न रुचाउने उनी अन्य देशको तुलनामा नेपालमा घरपालुवा कुकुरलाई बाटोमा ल्याएर छाड्ने चलन निकै कम रहेको बताउँछन् ।

उनले भने, "बरु पाल्दै पाल्दैनन्। बाटोमा धेरै कुकुर देखिनुको कारण बाटोमा भेटिएका कुकुरको बन्ध्याकरण हुन नसक्नु नै हो ।" "यस्तो अवस्थामा हामी नै बन्ध्याकरण गर्दिन्छु भन्नु त गैरजिम्मेवारपूर्ण कुरा हो। बरु जनचेतना बढाउँदा राम्रो हुन्छ ।"

कति छ कुकुरको सङ्ख्या ?
डङ्गोलका अनुसार काठमाण्डू महानगरपालिकामा सामुदायमा करिब २४,००० कुकुर छन् । घरपालुवा कुकुरको सङ्ख्या भने १०,००० हजारको हाराहारीमा हुने अनुमान गरिएको छ ।

काठमाण्डूका ३२ वटा वडामा सातदेखि आठ लाख स्थायी बासिन्दा रहेको महानगरको भनाइ छ । कुकुर पाल्ने अनुमति वडाबाटै दिने वा महानगरपालिकाले भन्ने विषयको निर्क्यौल भइनसकेको डङ्गोलले बताए ।


 

प्रतिक्रिया दिनुहोस