एजेन्सी । संयुक्त राज्य अमेरिकामा एउटा दम्पतीको बैंक खातामा झुक्किएर जम्मा भएको एक लाख डलर खर्च गरेपछि उनीहरू समस्यामा परेका छन् । रोबर्ट र टिफनी विलीअम्जको खातामा त्रुटिवश एक लाख २० हजार डलर जम्मा भएको र उनीहरूले अधिकांश रकम खर्च गरेको प्रहरीले बताएको छ ।
खातामा ठूलो रकम आएको देखेपछि विलीअम्ज दम्पतीले महँगो गाडी र अन्य सामग्री किनेका थिए । प्रहरीका अनुसार उनीहरूले सो रकम आफ्नो नभएको थाहा भएको स्वीकारेका छन् ।
उनीहरूलाई चोरी गरेको र चोरीको सामग्री लिएको अभियोग लगाइएको छ। अहिले उनीहरू धरौटीमा छुटेका छन् । सोमवार उनीहरूलाई एउटा स्थानीय अदालतमा उपस्थित गराइएको थियो । उनीहरूले सञ्चारमाध्यमसँग बोलेका छैनन्। उनीहरूले कानुनी सहयोग पाए वा नपाएको स्पष्ट छैन ।
गत मे ३१ मा बीबी एन्ड टी बैंकले त्रुटिवश उक्त रकम जम्मा भएको पेन्सल्भेनिअका एक अधिकारीले विलीअम्स्पोर्ट सन-गजेट पत्रिकालाई बताए। त्यो रकम एउटा स्थानीय लगानी फर्मलाई पठाउन लागिएको थियो ।
सो त्रुटि जुन २० मा पत्ता लागेको थियो। तर त्यति बेलासम्म खाताबाट झन्डै एक लाख सात हजार डलर निकालिसकिएको थियो ।खाताबाट पैसा निकालेर अभियुक्तहरूले केही महँगा कार र घरमा प्रयोग हुने विभिन्न सामान किनेको प्रहरीले उल्लेख गरेको छ ।
उनीहरूले आफ्ना साथीलाई सहयोगस्वरूप १५ हजार डलर दिएका थिए ।
सीबीएस न्यूजका अनुसार त्रुटि भएको पत्ता लागेपछि बैंकले सम्पर्क गर्दा टिफनीले आफूसँग पैसा बाँकी नभएको र सबै खर्च भइसकेको बताएकी थिइन् ।
"[टिफनी विलीअम्ज] ले आफ्ना श्रीमान्ले रकमको ठूलो भाग खर्च गरेको र एउटा चारपाङ्ग्रे किनेको बैंकलाई बताइन्। उनले पैसा फिर्ता गर्ने सहमतिको प्रयासका लागि श्रीमान्सँग कुरा गर्ने बताइन्।"
तर त्यसपछि उनीहरू बैंकसँग सम्पर्कविहीन भएका थिए । अनुसन्धानकर्ताहरूले जुलाईमा उनीहरूसँग कुरा गर्दा खातामा आएको पैसा आफ्नो नभएको थाहा भए पनि खर्च गरेको स्वीकारेका थिए । त्यो रकम आउनुभन्दा अघि उनीहरूको खातामा एक हजार डलर मात्र थियो ।
प्रतिक्रिया दिनुहोस