महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा २ सय ७३ कोरोना संक्रमित पुगिसकेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सिल गरिएको त्यही सम्सी गाउँमा सोमबार पुग्दा अचम्मको दृश्य देखियो। बिहान ११ बजेको थियो।
सम्सी गाउँपालिका ६ स्थित अजिजिया एकेडेमीमा बनाइएको क्वारेन्टाइन भद्रगोल देखिन्थ्यो। बाहिरको बरन्डादेखि भित्रको ठूलो कोठामा त्रिपाल ओछ्याइएको थियो। कोही सुतेका थिए। कोही बरन्डामा बसेर सडकतिर नजर डुलाउँदै थिए। क्वारेन्टाइनमा न स्वास्थ्यकर्मी थिए, न त प्रहरी नै।
‘यहाँ कति जना बस्नुहुन्छ रु ’ ‘४५ जना बस्छौं’, उनले भने। तर, त्यहाँ ५ जना मात्रै थिए। ‘अरू ४० जना खोइ त रु ’ जिज्ञासा राख्यौँ । ‘कोठामा बस्दाबस्दा बोर भो। सबै जना क्रिकेट हेर्न गएका छन्’, उनले भने।
कोरोना संक्रमित आइसोलेसनमा बस्नु पर्ने हो। क्रिकेट प्रतियोगिता हेर्न १ अचम्म लाग्यो। मन झस्कियो। तिनै व्यक्तिलाई मैले सोधें, ‘क्रिकेट टुर्नामेन्ट कहाँ भइरहेको छ रु ’
उनले मलाई क्वारेन्टाइनको गेटबाट बाहिर लगे। खेततिर देखाउँदै भने, ‘ऊ पश्चिमतिर हेर्नुस्। धेरै भिड छ नि। हो त्यहीं छन् क्वारेन्टानमा बसेका हाम्रा साथीभाइहरु। क्रिकेट म्याच हेर्दैछन्।’
यस स्कुलको क्वारेन्टाइनमा बस्दैं आएका ४५ मध्ये २८ जना कोरोना संक्रमित छन्। तिनै संक्रमितहरूसमेत गाउँलेको भिडमा पसेर खेल हेरेर मज्जा लिइरहेका भेटिए। गाउँभरी कोरोनाको महामारी चलिरहँदा सम्सीका युवाहरु बल र ब्याटसंगै व्यस्त थिए। कोरोना संक्रमितहरु गाउँलेसंगै बसेर हुटिङ गरिरहेका थिए।
क्वारेन्टाइनबाट करिब ५ सय मिटर पश्चिमको खेतमा क्रिकेट खेल जारी थियो। खेल मैदानसम्म पुग्न एक मात्र आलीको बाटो थियो। म त्यही आलीको बाटो अघि बढें। पछिपछि एक युवक मलाई बोलाउँदै आइरहेका थिए। पछि फर्किंदै म आलीमै रोकिएँ।
भेस्टपाइन्ट र मुखमा माक्स लगाएका ती युवकले आफूलाई चिनाए, ‘मेरो नाम जुनइब नदाफ हो। म क्वारेन्टाइनको गार्ड हुँ।’सँगै उनले मलाई हिन्दीमा अर्को प्रश्न सोंधे, ‘आप कोन हैं रु ’मैले भने, ‘मै पत्रकार हुँ।’
म खेल मैदानतिर फटाफट अघि बढें। ती युवक पछ्याउन थाले। कोरोना संक्रमितसहित क्वारेन्टानमा बसेका ४० जना कसरी बाहिर निस्किएर भीडमा क्रिकेट खेल हेर्न पुग्ने भन्ने प्रश्न मेरो मनमा खेलिरहेको थियो। उत्तरको खोजीमा म खेल मैदानतिर लम्किँदै थिएँ। नजिक पुगेपछि ती युवकले ठूलो स्वरमा कराए, ‘भागोभागो, पतरकार आयो।’
ठूलो साउन्डसहितको माइकको आवाजले गावैं खिचेको थियो। खेलमैदानबाट क्रिकेट कमेन्ट्री गर्दै गरेका युवक जोरजोरले माइकमा कराउँदै भन्दै थिए, ‘अभिअभि एक सान्दार छक्के लगाए है बलेबाँज नै।’
ती युवकले जति जोडले कराए पनि भीडका कसैले सुनेनन्। सबै क्रिकेट र त्यसको माइकिङ प्रस्तुतिमा मग्न थिए। केही नलागेपछि गार्ड युवकले क्रिकेट कमेन्ट्री गर्ने व्यक्तिलाई फोन गरेर भने, ‘अरे क्वारेन्टाइनमे रहने बालोको बोल दे, पतरकार आयाँ है। फोटो खिंच रहाँ है। जलसे जलस उनही सबको क्वारेन्टाइने बोलदे जानेके लिए।’
म आलीको बाटो छिटोछिटो क्यामराको लेन्स खेल मैदानतिर तेस्र्याउँदै अघि बढिरहें। मैदान नजिकै पुग्न लाग्दा क्रिकेटको कमेन्ट्री गरिरहेका युवाले भने, ‘क्वारेन्टाइनमे रहने बालो सभि फिल्डसे चलिजाओ, पत्रकार यहिपर आचुका है।’
माइकबाट जब पत्रकार आएको कुरा क्वारेन्टाइनमा बस्नेहरुले सुने, संक्रमितसहित क्वारेन्टाइनमा बस्ने सबै अर्को आलीको बाटो फर्किन थाले। ठीक त्यही बेला ८र१० जना नेपाली सैनिक नजिकै सडकमा गस्ती गर्दै आइपुगे।
लठ्ठी बोकेका सैनिक खेतको आली हुदैं दगुर्दै खेल मैदानतर्फ लागे। महामारीको जोखिम अत्यधिक रहेको सम्सीको त्यो भिड हटाउन सेनाको टोली जोसियो। खेतैखेत खेल मैदानतर्फ दगुर्यो ।
प्रतिक्रिया दिनुहोस