
विराटनगर । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश १ ले अहिलेसम्म भएको खर्चको हिसाब सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट कोरोना संक्रमणसँग सम्बन्धित खर्च सार्वजनिक गरेका हुन ।
मन्त्री कार्कीले कोषमा जम्मा रकम रु २९ करोड ५१ लख ७३ हजार रहेकोमा निकासा गरिएको १९ करोड ८२ लाख र वचत रु ९ करोढ ६९ लाख १ हजार ९ सय ७२ मौज्दात रहेको जानकारी दिएका छन् ।
कोरोना जनसुरक्षा कोषमा रहेको रकम विभिन्न मन्त्रालयमार्फत् तल पठाइएको बताउँदै उनले मुख्यमन्त्री कार्यालयले रु ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु २ करोड, आन्तरिक मामिला रु १५ करोड ३४ लाख, सामाजिक विकास मन्त्रायललाई रु २ करोड ४८ लाख ७१ हजार प्रदेश सरकारले उपलब्ध गराएको बताएका छन् ।
उनले आन्तरिक लेखा परीक्षणपछि प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गर्ने बताए । सम्बन्धित मन्त्रालयले कुन–कुन शीर्षकमा खर्च गरे भन्ने मन्त्रालयगत रुपमा पनि आउनेछ । सरकारले रु २० करोड ३२ लाख निकासा गरेको थियो । जसमा रु १९ करोड ८२ लाख ७१ हजार गइसकेको छ ।
उनले सरकारको नियमित बजेटबाट सामाजिक विकास मन्त्रालयबाट रु ३ करोड ३० लाख खर्च गरेको र संघीय सरकारबाट रु २ करोड २० लाख प्राप्त भएको पनि सदनलाई जानकारी गराए ।
प्रदेश सरकारले क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापन, स्थानीय तहलाई राहत व्यवस्थापनमा सहयोग, जिल्ला समन्वय समितिलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी र व्यवस्थापन जस्ता शीर्षकमा रकम खर्च भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस