
काठमाडौं । विदेशमा समस्यामा परेका नेपाली स्वदेश फिर्तीका लागि आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज विभिन्न पाँच ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपाली लिएर जहाज काठमाडौं आउने छ भने पाँच ठाउँमा नेपालीलाई लिन जहाज जानेछन् ।
आज साउदीको दमामबाट १५४ जना यात्रु लिएर नेपाल एअरलाइन्सको चार्टर्ड जहाज आउँदैछ । हिमालय एअरलाइन्सले यूएईमा समस्यामा परेका १५४ जना लिएर आउने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै नेपाल एअरलाइन्सले साउदीकै जेद्दाबाट पनि त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउँदैछ ।
कुवेतबाट पनि झण्डै १६० जना फर्कन सक्ने जनाइएको छ । कुवेतले जजिरा एअरको चार्टर्ड जहाजमार्फत आफ्नै खर्चमा त्यहाँ समस्यामा परेका नेपाली काठमाडौंसम्म ल्याइदिइरहेको छ । आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीका लागि भने नेपाल एअरलाइन्सले पहिलो चार्टर्ड उडान भर्दैछ ।
यस्तै इस्तानबुलबाट आज टर्किस् एअरलाइन्सको चार्टर्ड जहाजमार्फत २८० जना फर्कने विमानस्थलले जनाएको छ । यो जहाजले फर्कंदा पनि नेपालबाट २८० जना नै लिएर जाने तालिका तय भएको छ भने हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने भएका छन् । हिमालय एअरलाइन्सको जहाज आज राति यूएईको आबुधाबी जानेछ भने नेपाल एअरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ ।
आज राति नेपाल एअरलाइन्स कुवेत जाने तालिका रहेको विमानस्थलले जनाएको छ । त्यस्तै, नेपाल एअरलाइन्स जापानको नारिता र हिमालय एअरलाइन्स कतारको दोहा जाने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस