aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपालमा कोरोना सङ्क्रमित १० हजार को, कहाँका हुन् ?

  • बीबीसी
    बीबीसी
  • बुधबार, १० असार २०७७
नेपालमा कोरोना सङ्क्रमित १० हजार को, कहाँका हुन् ?
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

नेपालमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको ठीक पाँच महिनामा कुल सङ्क्रमित सङ्ख्या १० हजार नाघेको छ ।

नेपालमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण गत वर्ष माघ ९ गते देखिएको थियो। चीनको वुहानबाट फर्केका पुरुषमा देखिएको सङ्क्रमणको दुई महिनापछि चैत्र १० गते दोस्रो सङ्क्रमण देखा परेको थियो ।

अहिलेसम्म नेपालमा सङ्क्रमण पुष्टि भएका १० हजारभन्दा बढी को हुन्? कहाँका हुन् ? र कुन उमेर समूहमा हुन् ?

बीबीसी न्यूज नेपालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कलाई केलाएको छ :

२०० भन्दा बढी सङ्क्रमित भएका १४ जिल्ला

प्रदेश जिल्ला सङ्क्रमण निको उपचाररत मृत्यु
प्रदेश २ रौतहट १,१५९ २४४ ९१५
कर्णाली दैलेख ७४८ ३१४ ४३२
प्रदेश ५ कपिलवस्तु ७०५ ४० ६६४
प्रदेश २ सर्लाही ६१६ १२९ ४८७
प्रदेश २ महोत्तरी ५३९ २६ ५१३
प्रदेश ५ बाँके ३४४ २९७ ४५
सुदूरपश्चिम कैलाली ३२८ ३२ २९३
कर्णाली सुर्खेत ३२३ ४० २८२
प्रदेश ५ दाङ ३१५ ४९ २६६
प्रदेश २ धनुषा ३०७ १३६ १७१
प्रदेश ५ रुपन्देही २७३ ५६ २१७
प्रदेश ५ अर्खाखाँची २५० २४७
प्रदेश ५ गुल्मी २३६ २३०
प्रदेश ५ पाल्पा २३१ २२९
सुदूरपश्चिम डडेलधुरा २०४ १९६

* विसं २०७७ असार ९ गतेसम्मको तथ्याङ्क

स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
 

प्रदेश/जिल्ला
नेपालमा सबैभन्दा बढी सङ्क्रमित प्रदेश नं २ मा रहेका छन् । त्यहाँ ३,२४४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। त्यसपछि प्रदेश नं ५ मा २,८०९ जनामा सङ्क्रमण भएको छ ।

त्यहाँ सङ्क्रमण धेरै हुनुका कारण भारतबाट फर्किएका धेरैमा सङ्क्रमण देखिनु रहेको बताइन्छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार नेपालमा सङ्क्रमितमध्ये करिब ९५ प्रतिशत विदेशबाट आएका नेपालीहरू छन् ।

वाग्मती प्रदेशमा सबैभन्दा कम ३२७ सङ्क्रमित रहेका छन् । जिल्लाका हिसाबले १४ जिल्लामा २०० भन्दा बढी सङ्क्रमित रहेका छन् ।

उमेर समूह
उमेरगत हिसाबले सबैभन्दा बढी सङ्क्रमित २१ देखि ३० वर्षका रहेका छन्। सङ्क्रमितमध्ये सयकडा ३८ जना यो उमेर समूहको रहेका छन् ।

नेपालमा सङ्क्रमण भएकामध्ये ५० वर्षभन्दा बढी उमेरका निकै कम रहेका छन्। कुल सङ्क्रमितको ४.२४ प्रतिशत अर्थात प्रति ४०० सय सङ्क्रमितमा १७ जना सो उमेर समूहका हुन् ।

जनस्वास्थ्यविज्ञ डा. शरद वन्तका अनुसार नेपालमा युवाहरूको जनसङ्ख्या धेरै रहेको र उनीहरू श्रमका लागि भारत लगायतका देशहरूमा गएका कारण युवाहरू धेरै सङ्क्रमित भएका हुन् ।

महिला कि पुरुष ?
डा. पाण्डेका अनुसार नेपालमा सङ्क्रमितमध्ये करिब ९५ प्रतिशत विदेशबाट आएका नेपाली श्रमिकहरू छन् । त्यसमध्ये धेरै भारतबाट आएका व्यक्तिहरू छन् ।

त्यस्तै सङ्क्रमित हुनेहरूमा ९२ प्रतिशत पुरुष छन्। मृत्यु हुनेहरूमा भने २० प्रतिशत महिला रहेका छन् ।

"उहाँहरू श्रमका लागि विदेश जानुभएको छ र फर्कँदा सङ्क्रमित भएर नेपाल आएको देखिन्छ," उनले भने ।

सङ्क्रमितको अवस्था
सङ्क्रमितमध्ये करिब ९८ प्रतिशतमा लक्षण नदेखिएको डा पाण्डेले बताए ।

अहिलेसम्म २,२२४ जना निको भएर अस्पतालबाट फर्किसकेका छन्। त्यो भनेको सङ्क्रमितको सयकडा २२ जना हुन् ।

निको भएकामध्ये १८९ महिला रहेका छन् । सङ्क्रमितमध्ये ७,८५१ जनाको चिकित्सकीय निगरानीमा एक्ल्याएर उपचार भइरहेको छ ।

कसको मृत्यु भयो?
सङ्क्रमित १० हजारमध्ये २४ जनाको मृत्यु भएको छ। ती १६ जिल्लाका १९ पुरुष र पाँच महिला हुन् ।

कैलाली र गुल्मीका ३-३ जनाको मृत्यु भएको छ भने दैलेख, बाँके र बाराका २-२ जनाको मृत्यु भएको छ ।

त्यस्तै कपिलवस्तु, सुर्खेत, अर्घाखाँची, पाल्पा, पर्सा, स्याङ्जा , बाजुरा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, डोल्पा र दोलखाका १-१ जनाको मृत्यु भएको छ ।

उमेरका हिसाबले सबैभन्दा बढी ४१ देखि ५० वर्षका छ जना र ५१ देखि ६० वर्षका पाँच जनाको मृत्यु भएको छ ।

दुई र पाँच वर्षका बालकहरूदेखि ७६ वर्षीया वृद्धसम्मको मृत्यु भएको छ । 

मृत्यु हुनेमध्ये १४ जनामा पहिलेदेखि नै कुनै रोग रहेको डा पाण्डेले बताएका छन् ।

मङ्गलबारसम्मको आँकडामा ७ जना सघन उपचार कक्षमा रहेको अनि २ जनालाई भेन्टिलेटरमा राखिएको उनले बताए ।


 

प्रतिक्रिया दिनुहोस