aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बजेटको प्रतीक्षामा लगानीकर्ता, पुँजी बजारलाई उत्थान गर्ने नयाँ कार्यक्रम नआउने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
बजेटको प्रतीक्षामा लगानीकर्ता, पुँजी बजारलाई उत्थान गर्ने नयाँ कार्यक्रम नआउने संकेत

काठमाडौं, जेठ १४ । सरकारले आगामी आर्थिक वर्षका लागि बुधबार ल्याउने बजेट शेयरमैत्री नआउने पूर्वअनुमान लगानीकर्ताले गरेका कारण शेयर बजार खासै बढ्न सकेको छैन ।

यसअघि बजेट आउनु ८–१० दिनअघि नै बजेट कस्तो आउँदैछ भन्ने सूचना चुहावट हुने भएकाले शेयर बजार पनि त्यहीअनुसार ओरालो वा उकालो लाग्ने गथ्र्यो । तर, यसपाटक लगानीकर्ताले पूर्वाअनुमान गर्न नसकेका कारण शेयर बजारमा खासै प्रभाव परेको छैन ।
बजेटमा सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम नआउने संकेत पाइएकाले शेयर बजारमा खासै उत्साह नभएको लगानीकर्ताको भनाइ छ ।
‘यसअघिका बजेटमा पुँजी बजारलाई समेट्ने खालका कार्यक्रम आउँदैछन् भन्ने सूचना चुहिँदा शेयर बजारमा सकारात्मक असर पर्ने र शेयरको मूल्य बढ्ने गर्दथ्यो,’ एक लगानीकर्ताले भने– ‘तर आगामी वर्षको बजेटमा भने सकारात्मक प्रभाव पार्ने खालका सूचना नआउने संकेत देखिएकाले बजार सुधार नदेखिएको हो ।’

अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको पृष्ठभूमि पनि पुँजी बजारमैत्री नभएकाले शेयर बजार ओरालो लागेको लगानीकर्ताको भनाइ छ ।
लगानीकर्ताहरु सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटको प्रतीक्षामा छन् । बजेट जति नजिकिँदै छ, त्यत्ति लगानीकर्ता उत्साहित छैनन् । १८८१ बिन्दुमा पुगेको नेप्से परिसूचक १३०२.९६ बिन्दुमा आइपुगेको छ । पछिल्लो समय शेयर बजारमा केही सुधार आए पनि उत्साहजनक रुपमा नेप्से बढेको छैन ।

पुँजी बजारलाई उत्थान गर्ने नयाँ कार्यक्रम आउने हो भने नेप्से बढ्ने निश्चित छ । बजेटमा शेयर बजार सुधारका कुरा नआए पनि खासै ओरालो लाग्ने भने छैन । किनकी शेयर बजार धेरै घटिसकेको छ । लगानीकर्ताले बजटेबाट आश गर्न नसकेकाले पनि शेयर बजारमा धेरै सुधार नदेखिएको विश्लेषकको भनाइ छ ।

बजेटमा पुँजी बजारलाई प्रोत्साहन मिल्ने खालका कार्यक्रम आए शेयर बजार उकालो लाग्न सक्ने सम्भावना छ । शेयर बजारलाई असर पार्ने खालको नीति नल्याए मात्र पनि घट्ने सम्भावना छैन । असर पार्ने खालका नीति ल्याए मात्र अझै तल झर्ने अनुमान गरिएको छ ।
५–६ वर्षयता  शेयर बजार मूल्य अभिवृद्धि कर (भ्याट) को हल्लाबाट भयभीत छ । महालेखाले हरेक वर्ष बेरुजु निकालेको छ । त्यसलाई बजेटले कसरी सम्बोधन गर्ला भन्ने जिज्ञासा आम लगानीकर्तामा छ ।

अहिले लगानीकर्ता बजेटको पखाईमा भएको ब्रोकरको भनाइ छ । बजेटमा पुँजी बजारलाई सघाउने नयाँ कार्यक्रमको आस लगानीकर्ताले गरेका छन् । लगानीकर्ताको अपेक्षाअनुसार केही नआउने हो भने लगानीकर्तामा अझै निराशा छाउने र शेयर बजार केही तल झर्ने आँकलन ब्रोकरले गरेका छन् ।
आगामी बजेटले ल्याउने नीतिपछि शेयर बजार उकालो वा ओरालो लाग्ने भन्ने स्पष्ट बाटो निर्धारण हुने विश्लेषकको भनाइ छ ।
नयाँ सरकार गठनपछि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । सरकारको स्पष्ट नीति नआएकाले पनि शेयर बजार उकालो लाग्न नसकेको विश्लेषकको भनाइ छ । 

लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने अनुमान गरिएको छ । तर, त्यसो हुने सम्भावना पनि कम देखिएको छ । लगानीकर्ताको मनोबल अझै बढन सकेको छैन । शेयर धितोमा दिइने कर्जाको ब्याजदर नघटेकाले शेयर मूल्य नबढेको एक लगानीकर्ताले बताए । ब्याजदर नघट्दा शेयर बजारमा आकर्षण कम देखिएको उनको भनाइ छ ।

बैंकको ब्याज र शेयर बजारको उल्टो सम्बन्ध हुन्छ । ब्याज बढ्दा शेयरको मूल्य घट्छ भने ब्याज घट्दा मूल्य बढ्छ । बैंकमा लगानीयोग्य पुँजीको अभाव समाधान हुने क्रममा छ । लगानीयोग्य पुँजी अभाव कायमै रहेको, बैंकको ब्याजदर घट्ने छाँट नभएकाले पनि शेयर बजारमा खासै सुधार नदेखिएको हो ।
 

प्रतिक्रिया दिनुहोस