aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

चिठ्ठा परेको भन्दै करोडौँ ठगी, सात पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
चिठ्ठा परेको भन्दै करोडौँ ठगी, सात पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । ठूलो रकम कमाउने लोट्रीको लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ । सो घटनामा संलग्न गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

पक्राउपर्नेमा झापा, भद्रपुर नगरपालिका घर भई काठमाडौं बस्दै आएका पुकार बर्मा, काभ्रे सिम्थलीका नविन भण्डारी, रौतहटका आकास अग्रवाल, भारत विहारका एमडी सर्फराज, रौतहटका एस अग्रवाल, पर्साका कृष्णप्रसाद साह र सुनिल साह रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडाँै पठाइएको महाशाखाले जनाएको छ ।

यसरी ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायत सामाजिक सञ्जालको प्रयोग गरी उनीहरुलाई ठगी गरेका थिए । 

अहिलेसम्म उनीहरुबाट एक करोडौँभन्दा बढी रकम ठगेको अनुसन्धानमा खुलेको कार्कीले जानकारी दिनुभयो । उनीहरुले विभिन्न व्यक्तिको खाताबाट ठूलो रकम निकालेकोसमेत फेला परेको छ । कतिपय पीडितले पैसा पाउने आशमा आफ्नो घर जग्गासमेत धितो राखी घरबारविहीन भएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस