
काठमाडाैं । चीनसँग सीमा विवाद चर्किएको र हालै वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तपछिको अवस्था बुझ्नका लागि भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले लद्दाखको भ्रमण गरेका छन् ।
सेना प्रमुख नरवणेले पूर्व लद्दाखमा रहेको सेनाको क्याम्पको अवलोकन गरेका हुन् । उनले सैनिकहरुलाई उच्च नैतिकता कायम राखी उत्साह र जोशका साथ काम गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ सेनासँगको भिडन्तमा सहभागी भएका सैनिकहरुलाई उनले सम्मान पनि गरे । सेना प्रमुख नरवणे दुई दिने भ्रमणका लागि बुधबार लद्दाख पुगेका हुन् । उनले बुधबार पूर्व लद्दाखको सीमा क्षेत्रको अवलोकन गरेका छन् ।
बुधबार वर्किङ्ग मेकानिजम फर कन्सलटेशन एण्ड कोअर्डिनेशन अन इन्डिया–चाइना बोडर अफिअर्स (डब्लुएमसिसी) को महत्वपूर्ण बैठकको तयारी भइरहेका बेला सेना प्रमुख नरवणेको भ्रमण भएको हो ।
जुन १५ को राति गलवान उपत्यकासँग सीमा जोडिएको एलएसी क्षेत्रमा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएपछि दुई देशको तनाव उत्कर्षमा पुगेको छ ।
दुवै देशले तनाव क मगर्न सैन्य तथा कूटनीतिक तहमा वार्ता भइरहेको बताएका छन् ।
लद्दाखको देपसाङ क्षेत्रमा चिनियाँ सैनिकले उपस्थिति बढायो
भारत र चीनका बीच सीमामा तनाव कम हुने लक्षण देखिएको छ । चिनियाँ सेनाले देपसाङ सेक्टरमा पनि आफ्नो गतिविधि बढाउन थालेको भारतीय मिडियाले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार चीनले पूर्वी लद्दाखको दौलत बेग ओल्डी (डीबीओ) हवाई स्ट्रीपबाट ३० किलोमिटर र देपसाङबाट २१ किलोमिटर टाढा ठूलो संख्यामा सेना तैनाथ गरेको छ । त्यहाँको क्याम्पमा सैन्य बख्तरबन्द गाडी र तोप पनि पुर्याइएको छ ।
भारत र चीनबीच भारतको गलवान घाटी, पैङ्गोग र हट स्प्रीङ क्षेत्रमा तनाव जारी रहेको छ । लद्दाखको गलवान घाटीमा १० दिनअघि भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको थियो । झडपपछि खिचिएको भूउपग्रहको तस्विरमा गलवान नदी क्षेत्र नजिक रहेको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) को दुवैतिर चीनको सेनाले क्याम्पको निर्माणलाई तीव्र बनाएको छ ।
एलएसीको नजिक थुप्रै क्याम्प निर्माण भएको तस्विरमा देख्न सकिन्छ । गलवान घाटीमा १५ जुन भएको हिंसक झडपमा भारतका २० सैनिक मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस