
एजेन्सी । अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन् ।
कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् ।
"भोलि ठूलो भोज हुन्छ," लाइजरले बीबीसीलाई भने । तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ ।
यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरूमध्ये एक हो । एक स्थानीय भूवैज्ञानिकले यसको आपूर्ति आगामी २० वर्षभित्र समाप्त हुने अनुमान गरेका छन् ।
यो पत्थरलाई हरियो, रातो, बैजनी र नीलो रङ्गको विविधताका कारण विशेष मानिन्छ । यसको मूल्य रङ्गको दुर्लभताको आधारमा निर्धारण गरिन्छ । तर जति राम्रो रङ्ग र सफा छ, मूल्य त्यति नै बढी हुन्छ ।
लाइजरले गत साता ९.२ र ५.८ किलोग्राम वजनका दुई पत्थर खानीमा फेला पारेका थिए तर उनले बुधवार लाग्ने बजारमा त्यो बेचेका थिए ।
यसअघिसम्म सबैभन्दा ठूलो तान्जानाइटको तौल ३.३ किलोग्राम थियो । राष्ट्रपति जोन मागुफुलीले फोन गरेर लाइजरलाई बधाई दिए । "यो सानो स्तरमा खानी खोज्नेहरूको फाइदा हो र यसले तान्जानिया कति धनी छ भन्ने प्रमाणित गर्छ," राष्ट्रपतिले भने ।
सन् २०१५ मा मागुफुली खानीमा राज्यको हितको रक्षा गर्ने र यसबाट देशको आम्दानी बढाउने नाराका साथ विजयी भएका थिए ।
करोडपति बनेका ५२ वर्षीय लाइजर खानीमा रत्न र बहुमूल्य पत्थर खोज्ने काम गर्छन् । उनका चारवटी श्रीमती र ३० सन्तान छन् ।
उनले आफ्नो समुदायका लागि पनि लगानी गर्ने बताएका छन् ।
"म एउटा किनमेल केन्द्र र एउटा विद्यालय निर्माण गर्न चाहन्छु। म आफ्नो घरनजिकै विद्यालय बनाउन चाहन्छु। यहाँ आफ्ना छोराछोरी विद्यालय पठाउन खर्च गर्न नसक्ने धेरै गरिब मानिसहरू छन् ।"
"म शिक्षित छैन तर मलाई व्यावसायिक रूपमा काम गरेको मन पर्छ। त्यसैले म मेरा बालबच्चाले व्यवसाय गरून् भन्ने चाहन्छु ।"
उनले नयाँ धनले आफ्नो जीवन परिवर्तन नहुने बताए र आफ्ना २,००० गाईको हेरचाह गरिरहने बताए। र नयाँ धन प्राप्त गरेका कारण थप सर्तकता पनि अपनाउन नपर्ने बताए ।
"यहाँ यथेष्ट सुरक्षा छ। कुनै समस्या हुँदैन । म राति पनि विनासमस्या हिँड्न सक्छु ।"
लाइजरजस्ता केही व्यक्तिहरू तान्जानाइट खोज्न सरकारको अनुमति लिन्छन् तर धेरैले गैरकानुनी रूपमा ठूला कम्पनीका खानीवरपर उक्त पत्थर खोजी गरिरहेको बताइन्छ ।
सन् २०१७ मा राष्ट्रपति मागुफुलीले २४ किलोमिटर लामो पर्खाल लगाएर तान्जानाइट पाइने संसारको एकमात्र स्थान मेरेलानी घेर्न सेनालाई आदेश दिएका थिए ।
त्यसको एक वर्षपछि सरकारले खानीबाट हुने आम्दानीमा वृद्धि भएको थियो जसको कारण त्यही पर्खालको निर्माण मानिन्छ ।
प्रतिक्रिया दिनुहोस