भरतपुर । पर्यटनमा आधारित जल यातायात सञ्चालन गरिरहेका मोटरबोट सञ्चालकहरू लामो बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका छन् । सिजनभर नै बन्दाबन्दीको मार खेपेका सञ्चालकहरू वर्षा सुरु भएसँगै बैंकको ऋणको सावाँ ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
दुई वर्षदेखि नारायणी नदीमा मोटरबोट सञ्चालन गरिरहेको संस्था एमटीएस मोटरबोट प्रालिका सञ्चालक सोम आले मोटरबोट सञ्चालन गर्न नपाउँदा आफूहरू समस्यामा परेको गुनासो गरे ।
“बन्दाबन्दीले परिवार नै कसरी पाल्ने भन्ने चिन्ता छ,” उनले भने, “बैंक तथा वित्तीय संस्थाहरूले यही बेला किस्ताको सावाँ ब्याज तिर्न भनेर दबाब दिइरहेका छन् । ” प्रालिको तीनवटा मोटरबोट नारायणी नदीमा सञ्चालनमा छन् । आलेले आफ्नो प्रालिअन्तर्गत बैंकमा १२ लाख रुपियाँ ऋण भएको बताए।
मोटरबोट चलेको भए एउटै मोटरबोटबाट दैनिक छ÷सात हजार कमाउन गाह्रो थिएन । अहिले हाम्रो तीन÷तीनवटा मोटरबोट ठप्पै भएर बसेका छन्, उनको गुनासो थियो । आफ्नो १५ जना परिवार यसैको आम्दानीमा आश्रित रहेको पनि उनले बताए । यस्तै अर्का मोटरबोट सञ्चालक मदन कर्माचार्य पनि मोटरबोट नचल्दा चुलो नबल्ने अवस्था भएको गुनासो गरे ।
हिउँदको सिजन मोटरबोट चल्ने राम्रो सिजन हो तर चैतदेखि जेठसम्म नै मोटरबोट बन्द गर्नुपर्ने अवस्था आयो, उनले थपे, “असारदेखि असोजसम्म नारायणी बढ्ने हुँदा मोटरबोट चलाउन सकिने अवस्था नै रहँदैन । ” वर्षा उनीहरूका लागि अफसिजन हो । कोरोनाले त गर्नुग¥यो, कसरी परिवार पाल्ने हो भन्ने चिन्ता भयो, उनको भनाइ छ । कर्माचार्यको सात जनाको परिवार छ ।
नारायणी नदीमा अहिले १३ वटा मोटरबोट सञ्चालनमा छन् । साढे १२ लाख रुपियाँदेखि एक करोड २५ लाख रुपियाँसम्म लगानी गरेका मोटरबोट अहिले कोरोनाको कहरले सञ्चालनमा आउन सकेका छैनन् । एउटा मोटरबोटको कमाइ औसत दैनिक पाँच हजार रुपियाँ मान्ने हो भने पनि अहिले नारायणीमा रहेका १३ वटा मोटरबोटले दैनिक ६५ हजार रुपियाँ घाटा खाइरहेका छन् । जुन रकम महिनामा झन्डै २० लाख रुपियाँ हुन्छ ।
यस्तै नारायणी नदीमा नै क्रुज (सानो पानीजहाज) सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीको प्रभावले सञ्चालनमा ढिलाइ भएको छ । नारायणी नदीमा झन्डै दुई सय सिटको क्रुज चलाउने तयारी भइरहेका बेला बन्दाबन्दी भएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुज सञ्चालनका लागि निर्माणको काम सकेर बसेको छ ।
यस्तै रङ्गमहल रिभर ल्यान्ड प्रालिले नारायणीमा नै टेस्ट ड्राइभ गरेको मिनी क्रुज पनि व्यावसायिक रूपमा सञ्चालनमा आउन नपाउँदै बन्दाबन्दीको मारमा परेको छ । यसले मिनी क्रुजसँगै प्रालिले दुईवटा जेटस्किम, दुईवटा रिभरबोट र एक बनानाबोट पनि सञ्चालनमा ल्याएको थियो । यसका लागि प्रालिले झन्डै साढे तीन करोड रुपियाँ लगानी गरेको बताइन्छ ।
यस्तै बाग्मती प्रदेश सरकारको सहयोगमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले नारायणीमा क्रुज सञ्चालनका लागि २५ करोड रुपियाँ खर्च गरिसकेको जनाइएको छ । यो क्रुज साढे दुई तलामा २०० सिट रहेको छ ।
प्रतिक्रिया दिनुहोस