aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

प्रम ओलीले पार्टी भित्रबाट हुने आलोचना सुन्नै चाहेनन्, उनी बिनै नेकपा स्थायी कमिटी बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
प्रम ओलीले पार्टी भित्रबाट हुने आलोचना सुन्नै चाहेनन्, उनी बिनै नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी सर्मा ओलीको उपस्थिती बिनै शुरु भएको छ । पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य व्यक्त गरेको थियो । 

नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् ।

बैठकको दोस्रो दिन आजबाट नेताहरुले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम शुरु भएको छ । सरकार र पार्टी कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरुका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् ।

बैठकको पहिलो दिननै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरुलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरुले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतले जनाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ ।

दुई अध्यक्षबीचको सल्लाह अनुसारनै बैठकको अध्यक्षता प्रचण्डले गर्ने र महासचिव पौडेलले बैठक सञ्चालन गर्ने तय भएको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएका थिए ।

बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले ओलीको राजिनामा माग्ने तयारी गरिरहेका छन् । आफ्नो चर्को आलोचना हुने बैठकमा नबस्ने सोच अनुसारनै प्रधामनन्त्री निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न खोजेको आरोप अर्को पक्षले लगाएको छ ।

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी कामह सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र विविध कार्यसूचीमा छलफल हुने जनाएको छ ।

कार्यसूचीका विविधमा रुकुमपश्चिमा गत जेठ १० मा भएको  घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदको भत्ताका विषय राखिएको छ ।


 

प्रतिक्रिया दिनुहोस