aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

रु  १ करोडले ८ किलोमिटर ट्रयाक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असार २०७७
रु  १ करोडले ८ किलोमिटर ट्रयाक

रुकुमपूर्व । सिस्ने गाउँपालिका –२ नायगाड भएर सिस्ने –१ हुँदै डोल्पा जोडिने सडकखण्डको ट्रयाक खोलिएको छ ।  रु एक करोड बजेटमा नायगाडदेखि डोल्पातर्फ आठ किमीको साधारण बाटो खोल्ने काम गरिएको हो । 

गाउँपालिकाको रु ५० लाख र प्रदेश सरकारको रु ५० लाख बजेटमा उक्त ट्रयाक खोलिएको सिस्ने गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । यस्तै गत आर्थिक वर्षमा पनि गाउँपालिकाको रु ५० लाख र प्रदेश सरकारको रु ४० लाख गरी रु ९० लाख बजेटमा चार किमी बाटो खनिएको थियो । 

अहिले नायगाडतर्फ पूर्व पुथा –१४ जामाबगरबाट र पश्चिम देउखोलाबाट खडक खन्ने काम भइरहेकोे वडाध्यक्ष केसीले बताउनुभयो ।  देउखोला–नायगाडको बीच खण्डमा ब्लाष्टिङ गरी निर्माण सेवा कम्पनीले बाटो खन्ने काम गरिरहेको छ । सडक नपुगेका कारण विभिन्न आवश्यक सामग्री अभावका साथै कडा चट्टानका कारण ट्रयाक खोल्न निकै समस्या झेल्नुपरेको बताइएको छ ।  

अब जिल्ला सदरमुकाम रुकुमकोट, बालुवा–देउखोला–नायगाड–जामाबगर भएर कोलसँग जोडिँदै छ भने नायगाड–सिस्ने–डोल्पासँग जोडिँदै छ । हाल सडक नपुगेकाले त्यस ठाउँका नागरिकले सामान ढुवानीमा सास्ती खेपिरहेका छन् । डोल्पातर्फ जोडिने सडक र कोलसँग जोडिने सडक जोडियो भने व्यापार व्यवसाय फस्टाउने स्थानीयवासीले बताएका छन् । 

यी सडकखण्डमा पर्ने विभिन्न क्षेत्रमा मनोरम पर्यटकीयस्थल अथाह रहेकाले सडक पुगेमा पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्ने विश्वास लिइएको प्रवक्ता केसीले बताए ।
 

प्रतिक्रिया दिनुहोस